फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुन लागेको जी–२० सम्मेलनमा अमेरिका सहभागी नहुने बताएका छन्। दक्षिण अफ्रिकामा ‘गोरा मानिस’ हरूमाथि अत्याचार भइरहेको दाबीका आधारमा ट्रम्पले यस्तो बताएका हुन्। यद्यपि यी दाबीहरूलाई गलत र निराधार मानिएको छ।
दक्षिण अफ्रिकामा सम्मेलन आयोजना हुनु ‘पूर्ण रूपमा लज्जास्पद’ कुरा रहेको उनको भनाइ छ। जी–२० सम्मेलन यही महिनाको अन्त्यतिर जोहानेसबर्गमा हुन लागेको छ।
दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले अमेरिकाको निर्णयलाई ‘दुःखद र निराशाजनक’ बताएको छ।
दक्षिण अफ्रिकामा ‘अफ्रिकानर’ र ‘गोरा’ समुदायको प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले कुनै प्रकारको नरसंहार भइरहेको दाबी नगरेको स्पष्ट गरेको छ।
ट्रम्पले सामाजिक सञ्जाल टु्रथ सोशलमा लेखेका छन्,‘जी–२० सम्मेलन दक्षिण अफ्रिकामा हुनु पूर्णरूपमा लज्जास्पद कुरा हो। अफ्रिकानरहरू मारिँदैछन्, उनीहरूको जग्गा र फार्महरू गैरकानुनी रूपमा कब्जा गरिँदैछन्।’
दक्षिण अफ्रिकामा मानवअधिकार उल्लंघन जारी रहेसम्म अमेरिकाका कुनै पनि अधिकारीले यो सम्मेलनमा भाग नलिने ट्रम्पले बताएका छन्।



