अन्तर्वार्ता

‘विश्वभरका गैरआवासीय नेपाली युवालाई जोड्दै जानेछौँ’

हिमाल प्रेस २१ कार्तिक २०८२ २१:०६
28
SHARES
‘विश्वभरका गैरआवासीय नेपाली युवालाई जोड्दै जानेछौँ’

विश्वभर आफ्नो सञ्जाल विस्तार गर्दै गएको गैरनाफामूलक संस्था ‘अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)’ नेपाली युवा उद्यमशीलतालाई अन्तर्राष्ट्रियस्तरमा जोड्ने प्रमुख प्लेटफर्म बनेको छ। हङकङ, जापान, अमेरिका, बेलायत, खाडी मुलुकहरू, मकाउ, चीन, अष्ट्रेलिया लगायतका क्षेत्रहरूमा फैलिएको यो संस्थामा दुई सयभन्दा बढी समर्पित उद्यमीहरू आबद्ध छन्। फिनेले नेपाली उद्यमीहरूलाई व्यापार विस्तार, लगानी प्रवर्द्धन र विश्व बजारसम्मको पहुँच प्रदान गर्दै आएको छ। ‘जहाँ नेपाली युवा, त्यहाँ फिने’ भन्दै यो संस्था युवाहरूलाई उद्यम विकासको साझा उद्देश्यमा एकीकृत गर्ने अन्तर्राष्ट्रिय संरचना हो।

फिनेको हङकङ च्याप्टर युवा उद्यमशीलता र शसक्तीकरणका लागि विशेष रूपमा सक्रिय छ। विभिन्न मुलुक र सहरमा छरिएका नेपाली युवाहरूलाई एउटै उद्यमशील दृष्टिकोणबाट जोड्ने यस च्याप्टरको नेतृत्वमा यसै साता सोयना ढकाल दुई वर्षका लागि अध्यक्षमा चयन भएकी छन्। लामो समयदेखि सहभागी तर छोटो समयमा फिने हङकङमा सक्रिय सोयना हङकङमै जन्मिएर नेपाली पासपोर्ट बोकेकी जेन-जी पुस्ताकी ऊर्जावान् युवती हुन्। चार दिनअघि मात्र नेतृत्व सम्हालेकी उनले सानैदेखि हङकङमा अध्ययन गरेकी हुन्।

सिटी युनिभर्सिटी अफ हङकङबाट स्नातक र नेसनल युनिभर्सिटी अफ सिंगापुरबाट वित्त (फाइनान्स) मा स्नातकोत्तर पूरा गरेकी सोयनाले कोभिड महामारीको समयमा सिंगापुरमा स्नाकोत्तर सकेर हङकङ फर्केर प्राइभेट इक्विटी एड्भाइजरी कम्पनीबाट जागिरको अफर पाएकी थिइन्। अहिले उनी सोही इक्विटी एड्भाइजरीको फिनेक्स हङकङ लिमिटेडमा निर्देशकका रूपमा कार्यरत छिन्।

वित्तीय क्षेत्रमा गहिरो दख्खल राख्ने सोयना फुर्सदको समयमा फिनेका कार्यक्रमहरू सञ्चालन, मोडरेसन र सदस्यता विस्तारमा योगदान दिँदै आएकी छन्। हङकङमा ३० हजारभन्दा बढी नेपाली बसोबास गर्ने समुदायमा चिनिएकी अनुहार उनी उद्यममा युवा सहभागिता र सहकार्यलाई प्राथमिकता दिँदै फिने हङकङलाई थप गतिशील बनाउने योजनामा छिन्। उनै अध्यक्ष एवं अर्थ विज्ञ सोयनासँग हिमाल प्रेसले गरेको वार्ताः

छोटो समयमै फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ आन्टरप्रेनर्स (फिने) हङकङको अध्यक्ष हुनु भएको छ, कस्तो लागिरहेछ?

मलाई अध्यक्ष हुनुअघिदेखि करिअर, काम र भविष्यबारे प्रश्न खेलिरहन्थ्यो- सायद यो हरेक युवालाई हुन्छ नै। मैले घरमा पनि राम्रोसँग सल्लाह गर्न पाएको थिइनँ तर अध्यक्ष बन्न मलाई मेरा साथीहरू र सिनियरले प्रस्ताव गरेपछि म अध्यक्ष भएको हुँ। म युनिभर्सिटी हुँदैदेखि कार्यक्रममा भाग लिए पनि यसको औपचारिक सदस्य एक वर्ष अघि भएको थिएँ। अनि त्यही समयदेखि फिने हङकङको सचिव भएर काम गरेँ। हङकङमा नेपाली अल्पसंख्यक छौं, चुनौती धेरै छन्। तर पनि हामी युवाहरू एक अर्कामा जोडिएर काम गर्न आवश्यक छ। कोही व्यक्ति एक्लैले सोचेर मात्र निष्कर्ष नआउन सक्छ। बाहिर कनेक्ट भए सफलताका कथा सुनेर, समुदायसँग घुलमिल भएर सही दिशा पहिल्याउन सहज हुनेछ। समूहमा मिलेर काम गर्ने हो। सबैको आफ्नो कामको साइडमा यो एक प्रकारको युवा शसक्तीकरणसम्बन्धी काम हुनाले उत्साहित र चुनाैती दुवैको मिश्रणझैँ अनुभूति गरिरहेकी छु।

फिनेलाई नेपाल वा अन्य मुलुकमा रहेर अध्ययन गरिरहेका नेपाली युवाहरूले के भनेर चिन्ने?

फिने एक विश्व सञ्जाल भएको गैरनाफामूलक नेपाली संस्था हो। यसका च्याप्टरहरू हङकङ, जापान, बेलायत, भारत, चीन, अष्ट्रेलिया, अमेरिका, खाडी मुलुकलगायतमा छन्। यो अभियान एक दशक अघि अस्ट्रेलियाबाट सुरु भएको हो। प्रवासका युवाले उद्यममार्फत् व्यक्तिगत भविष्य मात्र होइन, नेपाल र प्रवासबीचको आर्थिक सम्बन्ध, लगानी, व्यापारिक सञ्जाल, अनुभव र दक्षता आदानप्रदान गर्ने दीर्घकालीन समाधानका रूपमा फिनेलाई चिन्न सकिन्छ। फिनेका च्याप्टरहरू अहिले बढ्दै गएको छ। प्रवासमा रहेका नेपालीहरू एक हुने क्रममा युवाहरू मार्फत पनि सहकार्य गर्न आवश्यक ठानेर यो अभियान सुरु भएको हो। नेपालीको मात्र होइन अन्य मुलुक भारत, चीन, फिलिपिन्स लगायत मुलुकको पनि यस्ता समूह छन्।

फिने हङकङलाई मात्र बुझ्न पर्दा फिने च्याप्टरको रूपमा मात्र कि अन्य तवरले पनि बुझ्न सकिन्छ?

फिने ग्लोबल नेटवर्क हो भने फिने हङकङ यसको एउटा सक्रिय च्याप्टर त हुँदै हो। यसको मूल अवधारणा युवालाई अवसरमा रूपान्तरण गर्ने क्षमता, उद्यमशीलताको बाटो सरल बनाउने र व्यावसायिक नेतृत्व तयार गर्ने हो। यो कार्यमा विगत ६ वर्षदेखि हङकङ निकै सक्रिय छ। काठमाडौँ वा एक सहरमा सीमित नभई विश्वभरका युवालाई उद्यमशील दृष्टि, सिकाइ, एक्सपोजर, मेन्टरसिप, साझेदारी, सह-व्यवसाय र सह-लगानीमा जोड्ने साझा प्लेटफर्म हो। हामी फिने हङकङ निकै सक्रिय छौं। यहाँको समुदाय र महावाणिज्य दूतावासको साथले पनि युवा जोड्न सफल भएका छौं।

अनुभव बाँड्ने, असल र सफल अभ्यास सुनाउने मात्र नभएर युवालाई व्यापारिक वा उद्यमीसँग जोड्ने काम पनि फिनेले गर्ने मुख्य काम पो रहेछ?

निश्चय नै। हाम्रो उद्देश्य विश्वभरका नेपाली उद्यमी युवाहरूलाई एकीकृत सञ्जालमा जोड्ने, सहयोग गर्ने र उद्यमशीलता सुदृढ गर्ने हो। मुख्य फोकस युवा उद्यमशीलता (युथ आन्टरप्रेनरसिप) मा छ। फिनेको विश्वास छ- विश्वभरका नेपाली युवाले एकअर्काबाट सिक्ने, सँगै अघि बढ्ने र उद्यममार्फत सामूहिक आर्थिक सशक्तीकरण गरे मात्र प्रवासको उद्यम क्षमता दीर्घकालीन बन्छ। फिनेले अन्तर्राष्ट्रिय युवा उद्यमशील नेटवर्कलाई व्यवस्थित, सक्रिय र निरन्तर बनाउँदै लैजान्छ।

हङकङमा कति नेपाली युवा फिनेमा जोडिएर सक्रिय छन्?

फिनेमा सयौँ युवा जोडिएका छौँ। हङकङमा पनि हामी धेरै नै छौँ। एकदमै धेरै समय दिएर यसमा लाग्ने सक्रिय युवा करिब २ सय हुनुहुन्छ। नियमित कार्यक्रम, सेमिनार, अन्तरक्रिया र व्यवसाय विकासमार्फत आपसी परिचय, बजार खोज र सहकार्यमा मद्दत गर्छौं। १८ देखि ५० वर्ष उमेरका जो कोही जोडिन सक्ने हुनाले यसमा म भन्दा कनिष्ट र म भन्दा वरिष्ठ निकै हुनुहुन्छ। सबैसँग मिलेर सहकार्य गर्दै अघि बढ्ने हो। हामी सबैको आफ्नो काम वा व्यवसाय छ नै। तर पनि समय निकालेर हामीले केही समय फिनेलाई दिन्छौँ,  दिइरहनुभएको छ।

युवालाई आकर्षण र लगानीका लागि हङकङमा कस्ता कार्यक्रम भइरहेका छन्?

हामी नेपालबाट उद्यमी बोलाउँछौँ वा यहाँ कुनै कामको सिलसिलामा आउनु भएकाे बेला मौका छोप्छौँ र छलफल गर्छौं। सुरुमा राजेन्द्र खेतानजस्ता प्रतिष्ठित उद्यमी आउनुभएको थियो। हामीले खल्तीका डाइरेक्टर अमित अग्रवालसँग केही समय अघि मात्र कफी गफ गरेका थियौँ। युवा उद्यमी बोलाएर छलफल, सफलताका कथा सुन्ने, अनुभवीसँग जोड्ने काम गर्छौं। जुममार्फत् पनि सम्मेलन गरेका छौँ। मुख्य रूपमा नेटवर्किङ इभेन्ट र कन्फरेन्स। युवालाई आकर्षित गर्न कफी टक, कफी सेसन, जुम सेसन जस्ता कार्यक्रम गर्छौं। गत वर्ष ६ वटा कार्यक्रम भए। यस्ता कार्यक्रम सुनेर आफ्नै बिजनेस सुरु गर्ने युवाहरू पनि हुनुहुन्छ।

तपाईं कसरी फिने हङकङसँग जोडिनुभयो? के कुराले तान्यो?

मलाई फिने हङकङबारे जानकारी थियो, तर अध्यक्ष बन्छु भन्ने थिएन। यहाँका मेरा समकक्षी म भन्दा जुनियरले कहिलेकाही जिस्काउनु हुन्थ्यो तर अध्यक्ष अहिले होइन पछि  हुने हो भन्थेँ। तर सिनियरहरूले पनि जोड दिनु भयो र म अहिले अध्यक्ष भएँ। सबैको साथ सहयोग र मायाको म ऋणी भएको छु। स्नाकोत्तर सकेर फर्के लगत्तै म यसको कार्यक्रकमा जान थाले। तर म समितिमा गत वर्ष सदस्य भएपछि मात्र प्रवेश गरेको हुँ। प्रवेश गरेसँगै म सचिव भएँ। हामीले राम्रै काम गर्न सक्यौँ। यसमा निवर्तमान अध्यक्षको भूमिका र सक्रियता लोभलाग्दो थियो। डेढ वर्षअघि साधारण सदस्य, पछि सचिव चुनिएँ। सबै इभेन्टमा सक्रिय भएँ। यही कारण सिनियर र साथीहरूले अध्यक्षका लागि अघि बढाउनुभयो। विगतमा गर्नुभएको कार्यक्रमभन्दा राम्राे कार्यक्रम वा त्यस्तै कार्यक्रम गर्न म प्रतिबद्ध छु। विश्वभरका युवा जोड्ने संयन्त्र र नेटवर्किङको अवधारणा मन परेर नै म यसमा आएको थिएँ। म सकभर विश्वविद्यालयमा अध्ययनरतलाई नै यसमा जोड्ने कोसिस गर्नेछु। तर म अध्यक्ष भए पनि सबै साथीहरू र सिनियरहरूको सल्लाहमा नै अघि बढ्ने हो।  विभिन्न क्षेत्रका अनुभवीसँग भेट, सहकार्य र नयाँ व्यवसाय सुरु हुने सम्भावना म जस्ता सबैलाई तान्छ नै।

यसमा कस्ता युवा जोडिन सक्छन् र जोडिएपछिको जिम्मेवारी के हुन्छ?

१८ देखि ५० वर्ष उमेर समूहका सबै नेपाली वा गैरआवासीय नेपाली यो नेटवर्किङमा जोडिन सक्छ। संस्थाको उद्देश्य नै युवा सहभागिता हो। म जस्तै अरू पनि जोडिन्छन्। म युनिभर्सिटीमै हुँदा इभेन्टमा आउँथें। अनि यहाँ भएका छलफलहरू मन पर्थ्यो। अनि आकर्षण बढ्दै गयाे। अहिले यसमा केही गर्नुपर्छ भन्ने लागेको छ। अन्यलाई पनि यस्तो भावना आउने गरी कार्यक्रम गर्नुपर्छ।

फिने हङकङलाई नेपालसँग कसरी जोडिँदै आइएको छ र अब कसरी जोड्नुहुन्छ?

उद्यमशीलताबाटै जोड्ने हो। आफ्ना सफल उदाहरण र नयाँ आइडिया दिने र त्यसमा नेटवर्कमार्फत जोडिने हो। गैरआवासीय नेपाली युवाहरूमा फिने चलेकै नाम हो। अनि हाम्रो नेपालमा हुने सम्पर्क सञ्जालबाट पनि यसमा नेपाली जोडिन सक्नेछन्। म हङकङमा भए पनि नेपाली हुँ। नेपाली पासपाेर्ट नै प्रयोग गर्छु। नेपालमा हुने भ्रष्टाचार वा सरकारी हडल्सका कारण नेपाली पासपोर्ट कमजोर छ। तत्काल भिसा नपाउने भिसा आवेदन दिँदा पनि प्रश्नको ओइरो लाग्ने गर्छ तर पनि मैले नेपाली पासपोर्ट नै बोक्छु। विदेशमा जन्मेर पनि नेपाली पासपोर्टमा यात्रा गर्ने युवाहरू कैयन् छन्। यही आफ्नो पनबाट नेपाल र हङकङका युवा जोड्ने हो। हामी टिम नै सक्रिय भएर उद्यमशीलता र शसक्तीकरणको माध्यमबाट जोड्ने छौँ। सबैको अनुभव र ऊर्जा मिसाएर अगाडि बढ्छौं। टिम भर्खर बनेको छ, छलफलपछि कार्ययोजना आउने छ। क्यालेन्डर बनाएर हामी काम गर्नेछौँ।

फिनेको अध्यक्ष केही दिनदेखि सोयना भइसकेकाले अब युवाहरूले नयाँ के पाउने छन् ?

योजना धेरै छन्। विश्वविद्यालयका युवालाई जोड्ने, सञ्जालबारे जानकारी दिने, सहकार्यमा लैजाने तयारी छ। सेसन, इनोभेसन, एक्जिबिसन गर्छौं नै जुन पहिला पनि हुने गर्थ्यो। सेमिनार, समिटबाट अवसरको ढोका खोल्छौं। जसले काेही न कोही युवालाई जोड्न सकुन्। कतिपय सदस्यहरूले इभेन्ट सुनेर साइड बिजनेस नै सुरु गर्नुभएको पनि छ। गत वर्षजस्तै अबका दिनमा पनि सेमिनार, टक शो, पडकास्ट र सफल व्यवसायीको धारणा बाँड्ने र नयाँ आइडियाहरू सुनाउने-सुन्ने काम जारी रहनेछ। वर्कशप, नेटवर्किङ इभेन्ट थप्छौं। यसमा खास गरी विश्वविद्यालयमा अध्ययनरतलाई जोड्ने प्रयास हुनेछ। समिट हरेक २ वर्षमा हुने हुनाले अर्को वर्ष हुने समिट अघि हामीले अधिक कार्यअघि बढाउने छौँ। समिट कुन च्याप्टरले गर्ने टु‌ंगो लाग्न बाँकी छ। हामी सल्लाहमा नै यसको टु‌ंगो लगाउनेछौँ। टिम भर्खर बनेको छ, सबैको सल्लाहपछि योजना बनाउने छौँ। किनकी यो टिमवर्क हो। टिम मिलेर नै त हो हालै आईएस २०२४ समिट मा १० देशबाट १२० सहभागी भएको। आठ फरक-फरक प्रस्तुति थियो। जसकाे पडकास्ट निकै धेरैले मन पराउनुभयो। यस्तो सम्मेलनले उद्यमशीलतामा प्रेरणा जगाउने काम गर्छ। त्यसमा फिने सफल हुँदै गएकोले हामी यस्तै कामलाई निरन्तर दिन्छौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast