काठमाडौँ- म्यानमारको अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न काममा लगाइएका १४ जना नेपाली नागरिकहरूलाई उद्धार गरिएको छ। नेपाली राजदूतावास बैंककले म्यानमार र थाइल्याइल्यान्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको हो।
विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमार पुगेर अवैध रुपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरुमा काममा लगाइएका थिए। उनीहरू त्यहाँ दासको रूपमा कार्यरत थिए। उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्यान्ड ल्याएर नेपाल फर्काएको दूतावासले जनाएको छ।
उनीहरू आज (बुधबार) नेपाल एयरलाइन्समार्फत् नेपाल पठाइएको हो। थप ११ जना नेपालीहरुलाई पनि नेपाल फर्काउन समन्वय भइरहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार म्यानमारको म्यावडीका विभिन्न स्क्यामिङ केन्द्रहरुबाट अक्टोबर १९ पछि ३८ जना नेपालीसहित दुई हजार भन्दा बढी विदेशीहरू थाइल्यान्ड प्रवेश गरेका थिए। ती ३८ नेपाली नागरिकलाई पनि पठाउनका लागि थाइल्यान्डको सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।




