म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरण तारिएको छ।
म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधिपूर्वक तानिएको हो।
खेती किसानी र पशुपालन गर्ने स्थानीयवासीहरूले परापूर्वकालदेखि हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न सामूहिक रूपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताए।
‘कात्तिक पूर्णिमाका दिन तिनचुुले बराह तालमा तोरण तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगव्याधि नहुुने र शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुुने जनविश्वास रहेको छ,’ उनले भने, ‘चार वटा टोलबाट सामूहिक र भाकल पूरा भएकाले व्यक्तिगत रुपमा तोरण ल्याएर तार्ने चलन छ।’
वैकुण्ठ चतुर्दर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरणलाई त्यहाँदेखि डोलीमा चढाएर बाजा र भजनकीर्तनसहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ। शिवालय मन्दिरदेखि बराहतालको पूर्वी छेउको रुखमा तोरण तान्ने गरिएको छ।
बाबियोको डोरी बाटेर थरिथरिका फूलहरू गाँसेर तोरण बनाउने चलन छ। तोरण लिएर पुगेका भक्तजनहरू वैकुण्ठ चतुर्दशीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन्।
यस वर्ष पाँचवटा तोरण तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पूजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए। तोरण तार्न र पूजाआजाका लागि आएका भक्तजनहरूलाई समितिले निःशुल्क प्रसाद र चिया वितरण गरेको थियो।
ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सीप, अर्गल, सिरकुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए। माझखर्कबाट तिनचुुलेतर्फ तोरण लैजानुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो।
पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो। पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो।
म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताए।
ताराखोला, मंगला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए। सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ। रासस



