अवरुद्ध भयो बेँसीसहर-चामे सडक

हिमाल प्रेस १४ कार्तिक २०८२ १५:२७
16
SHARES
अवरुद्ध भयो बेँसीसहर-चामे सडक फाइल तस्बिर।

लमजुङ- केही दिनदेखि परेको वर्षाका कारण लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ ठाउँमा सडक माथिबाट ढुंगाहरु झर्ने क्रम निरन्तर रहेपछि आज (शुक्रबार) दिउँसो साढे २ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले पानी निरन्तर परेपछि सो अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था नरहेको र जगतलगायत विभिन्न स्थानमा सडक माथिबाट ढुंगाहरू खसिरहेपछि सवारी सञ्चालन ठप्प भएको बताए। सो स्थानमा प्रहरी परिचालन गरिएको र झरनाको पानी कम र ढुंगा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन्। यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ।

यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारीसाधन सञ्चालन हुँदै आएको छ। पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ। सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरु बढी प्रत्यक्ष मर्कामा पर्ने गरेको छ। ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast