अन्नपूर्ण आधार शिविरमा पर्यटक फसेका छैनन् : म्याग्दी प्रशासन

हिमाल प्रेस ११ कार्तिक २०८२ १४:५४ | Tuesday, October 28, 2025
अन्नपूर्ण आधार शिविरमा पर्यटक फसेका छैनन् : म्याग्दी प्रशासन मुक्तिनाथ क्षेत्रमा मंगलबार भएको हिमपात। तस्बिर : रासस

पोखरा- अन्नपूर्ण आधार शिविर (अन्नपूर्ण बेस क्याम्प-एबीसी) मा हिमपातका कारण पर्यटक फसेको सूचना नआएको म्याग्दी जिल्ला प्रशासनले जनाएको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार त्यसतर्फ गएका पर्यटक कतिपय फर्किसकेका छन् भने केही हिमपातमा रमाइरहेका छन्।

तिवारीले हिमालप्रेससँग भने, ‘अन्नपूर्ण बेस क्याम्पमा कोही पर्यटक फसेको भन्ने सूचना छैन। गएर फर्किसकेकाहरूको भनाइअनुसार करिब ४० जना जति हिउँमा रमाइरहेका छन्। बाटो सजिलो भएकाले उनीहरू पनि फर्किनेछन्। कोही समस्यामा परेको सूचना छैन।’

पदयात्राबाट फर्किसकेका असीम त्रिपाठीको भनाइ उधृत गर्दै तिवारीले एबीसीमा रहेका पर्यटक हिउँमा रमाएको र बाटो राम्रो पनि भएकोले सजिलै फर्किन सक्ने बताए। नयाँ पर्यटकलाई फर्किने बेलामा हिउँले बाटो नचिन्ने समस्या हुने भएकाले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा ११ सदस्यीय एक टोली त्यसतर्फ पठाइएको छ। टोलीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र एक जना स्थानीय इन्द्रसिंह शेरचन छन्। उद्धार टोली नर्थ एबिसीको र्‍यारच्याङ हुँदै मौरिस हर्जोज पदयात्रातिर गएको छ।

प्रदेश प्रहरी कार्यालय गण्डकीले एबीसीमा कोही फसेको भन्ने सूचना नआएको जनाएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि कास्की क्षेत्रमा कोही कतै हिमपातमा फसेको भन्ने खबर नआएको प्रस्ट पारिन्।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले वर्षा र हिमपातका कारण अन्नपूर्ण बेस क्याम्प जाने पर्यटकका लागि यात्रामा पूर्ण रुपमा रोक लगाएको छ। सूचना जारी गरी अन्नपूर्ण बेस क्याम्पको म्याग्दीतर्फको उत्तरी बेसमा १४ कात्तिक साँझसम्म पदयात्रामा जान रोक लगाएको हो।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले जिल्लामा पर्यटक फसेको सूचना नआएको बताए। उनले भने, ‘नीलगिरि र धवलागिरि आसपासका क्षेत्रमा हिमपात र पानी परिरहेको छ। पर्यटक फसेको सूचना आएको छैन।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार नै सूचना जारी गर्दै कागबेनीबाट माथितिर नजान सचेत गराएको थियो।  हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका निमित्त आवश्यक भूमिका निर्वाह गर्न सबै सरोकारवालालाई आग्रहसमेत गरिएको छ।

त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय, म्याग्दीको पर्यटकीयस्थलहरु अन्नपूर्ण बेस क्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरी पदमार्ग, मोहरेडाँडालगायतमा पदयात्राका लागि आवतजावत गर्ने पर्यटक तथा पर्यटन व्यवसायीहरु र पदयात्रीहरु साथै कामविशेषले त्यस क्षेत्रको भ्रमणमा रहेकाहरुले मौसम, बसोबासको व्यवस्था ख्याल गरी सुरक्षित भई बस्न र यात्रा गर्न प्रशासनले सचेत गराएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १४:५४ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast