‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा विप्लव समूहले आयोगमा दियो दल दर्ता निवेदन

हिमाल प्रेस ११ कार्तिक २०८२ १४:०७ | Tuesday, October 28, 2025
‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा विप्लव समूहले आयोगमा दियो दल दर्ता निवेदन

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ ले निर्वाचन आयाेगमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दल दर्ताको निवेदन दिएका छन्। उक्त नाम पार्टीको बैठकबाट अनुमोदन गराइसकेपछि मंगलबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, कर्णजित बुढालगायतका नेताहरूले आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन्।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते तय भएको छ। सो निर्वाचनमा भाग लिनका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने अन्तिम मिति कात्तिक ३० गतेसम्म निर्धारण गरिएको छ। विप्लव समूहले यही म्यादअघि नै दर्ता निवेदन दिएको हो।

दल दर्ताको निवेदन दिएपछि प्रवक्ता विश्वकर्माले आफ्नो पार्टीले आगामी चुनावमा सहभागी हुने उद्देश्यले निवेदन दिएको जानकारी दिए। उनका अनुसार नेपालका राजनीतिक आन्दोलनहरूमा आफ्नो पार्टीले चुनावमार्फत नयाँ बाटो खोज्दै अघि बढ्नेछ।

अब आयोगले प्राप्त निवेदनको अध्ययन गरी, प्रस्तावित नाम स्वीकृत गर्ने वा नदिने विषयमा निर्णय गर्नेछ। आयोगको निर्णयपछि मात्र उक्त दललाई कानुनी मान्यता प्राप्त हुनेछ।

हालसम्म निर्वाचन आयोगमा १२४ दल दर्ता छन्। यससहित १७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन्।

प्रकाशित: ११ कार्तिक २०८२ १४:०७ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast