च्याउखेतीबाटै वर्षमा १० लाख कमाउँछन् मंगल

हिमाल प्रेस १० कार्तिक २०८२ १५:३४ | Monday, October 27, 2025
च्याउखेतीबाटै वर्षमा १० लाख कमाउँछन् मंगल

अत्तरिया (कैलाली)- कैलालीको धनगढी उपमहानगरपालिका-११, जोकैयाका मंगल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आएका छन्। उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्।

पाँच वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहेका छन्।  बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उनले त्यसबाट मनग्य आम्दानी गरिरहेका छन्। चौधरीले भने, ‘पहिले ज्ञान, सीप कम थियो । छ महिनामात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु। आम्दानी पनि राम्रै छ।’

सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने उनले सुनाए। हाल बजारमा च्याउ प्रतिकिलो १८० रुपैयाँका दरले बिक्री भइरहेको छ।

चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताए। उनले भने, ‘बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन। हाल प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु।’

चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउँछन्। यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाइलेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उनले जानकारी दिए। यसबाटै भएको कमाईबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले बताए।

‘आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु,’ चौधरीले भने, ‘हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु। दैनिक प्रतिव्यक्ति छ सयदेखि ७०० सम्म ज्याला दिने गरेको छु।’ रासस

प्रकाशित: १० कार्तिक २०८२ १५:३४ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast