जेनजी आन्दोलनपछिको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

हिमाल प्रेस १० कार्तिक २०८२ ६:५८ | Monday, October 27, 2025
जेनजी आन्दोलनपछिको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘युवा पुस्ताको आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र नेपाली जनताबिचको साझा सहकार्य आवश्यक छ, युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजलाई सम्बोधन गर्न हामी सबैको साझा प्रतिबद्धता अपरिहार्य छ।’

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै यो पर्वले समाजमा रहेका वर्गीय, जातीय, लैंगिक विभेद र विसंगतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने अपेक्षा गरेका छन् ।

उनले भनेका छन्, ‘सूर्यदेवको आराधना र छठी माताको कृपाले हामी सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’

वैदिक सनातन परम्परामा आधारित यो पर्व सूर्यदेव र छठी माताको आराधनाका रूपमा मनाइन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने यो विशिष्ट पर्वले समानता, पवित्रता र सामूहिक सहअस्तित्वको सन्देश बोकेको सभामुख घिमिरेको भनाइ छ। उनले छठ पर्वले हामीलाई प्रकृति र मानवबिचको गहिरो सम्बन्ध, सूर्यको अनन्त ऊर्जा र मेहनतको मूल्य स्मरण गराउने गरेको बताएका छन्।

प्रकाशित: १० कार्तिक २०८२ ६:५८ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast