कागती बिक्री गरेर वार्षिक तीन लाख आम्दानी

हिमाल प्रेस ५ कार्तिक २०८२ १४:२६ | Wednesday, October 22, 2025
कागती बिक्री गरेर वार्षिक तीन लाख आम्दानी

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिका-४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर आम्दानी गर्दै आएका छन्। घिमिरेले कागती बिक्रीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुने गरेको बताए।

अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन्। ‘व्यावसायिक रूपमा कागतीखेतीमा लागेका छु’, उनले भने, ‘अहिले वार्षिक दुईदेखि तीन लाख रूपैयाँ आम्दानी लिँदै आएको छु। साना बिरुवा पनि विस्तार गरेको छु। ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ।’

६ वर्षअघिबाट फलफूलखेती सुरू गरेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गरेका छन्। एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बालीखेतीमा जोड दिएको उनको भनाइ छ।

‘एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु’, उनले भने, ‘कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु।’

फलफूलखेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। उनका अनुसार गाउँपालिकाले ‘एक घर,एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ।

‘पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौं’,अध्यक्ष राईले भने, ‘यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन्। गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ।’

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दीगो रूपमा आम्दानी लिनसक्ने भएकाले आवश्यक सहयोग गर्दै आएको बताइन्।

किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ। ‘वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूलखेतीमा प्रोत्साहन दिइरहेका छौं’, उनले भनिन्।

प्रकाशित: ५ कार्तिक २०८२ १४:२६ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast