नेपालमा वि.सं. २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनबाट २०१६ सालमा मुलुकको पहिलो संसद्को गठन भएको थियो। २०१६ असार ४ गते राजदरबारले सूचना जारी गरी प्रतिनिधिसभाको पहिलो अधिवेशन असार १६ गते राति ११:४५ बजेका लागि आह्वान गरेको थियो। त्यसै दिन संसद्का सदस्यहरूले शपथ लिएका थिए।
असार १८ गते सभामुखको निर्वाचन भएको थियो। त्यसैदिन सभामुखमा निर्वाचित कृष्णप्रसाद भट्टराईले त्यसको भोलिपल्ट १९ असारमा शपथ लिएका थिए। २१ असारमा महेन्द्रनारायण निधि उपसभामुख चुनिएका थिए।
साउन ९ गते राजा महेन्द्रले संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यतालिका थियो। त्यसको जानकारी सभामुख भट्टराईले साउन ६ गतेको संसद् बैठकमा दिएका थिए। त्यसदिन सभामुख भट्टराईको घोषणा थियो-
‘संविधानको धारा ३२ (१) अनुसार संसद्को दुवै सदनको संयुक्त बैठकमा साउन ९ गतेका दिन दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ। यस प्रयोजनका निम्ति माननीय सदस्यहरूको उपस्थिति समादेश गरिएको छ। सो दिन माननीय सदस्यहरूले १० मिनेट अगावै २:५० मा आसन ग्रहण गरिसक्नु हुन अनुरोध गरिन्छ। सम्बोधन समाप्त भएपछि सभाको बैठक बेलुकी ६:३० बजे बस्नेछ।’
(प्रतिनिधिसभाको ६ साउन २०१६ को अभिलेख)
राजा महेन्द्र संसद् भवन सिंहदरबारस्थित ग्यालरी बैठकमा आफैँ उपस्थित भई साउन ९ गते दिउँसो ३ बजे संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरे। राजा महेन्द्रले राष्ट्राध्यक्षको हैसियतले नेपालको संसद्लाई गरेको त्यही नै पहिलो सम्बोधन थियो। २०१७ पुस १ गते आफैँले संसद् विघटन गर्नुपूर्व राजा महेन्द्रले जम्माजम्मी २ पटक संसद्लाई सम्बोधन गरेका थिए। दोस्रो र अन्तिम पटक उनले २०१६ चैत २८ गतेका दिन संसद्लाई सम्बोधन गरेका थिए।
साउन ९ गते राजाको सम्बोधन पछि सोही बेलुकी ६:३० बजे सभामुख भट्टराईको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक प्रारम्भ भयो। बैठक प्रारम्भ हुनासाथ सर्वप्रथम सभामुखले राजाको सम्बोधनको पहिलो अन्तिम प्रकरण सभा समक्ष पढेर सुनाए। त्यसपछि राजाको सम्बोधनमा उल्लेख भएका कुराहरूमाथि छलफल गर्नका लागि सभामुखले साउन १३ र १६ गतेका लागि बैठकको मिति तोके। त्यसपछि मित्र राष्ट्रहरूका तर्फबाट संसद्लाई प्राप्त भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।
नेपालको पहिलो संसद्ले नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरूमध्ये तीन वटा लोकतान्त्रिक मुलुकका संसदबाट शुभकामना सन्देश प्राप्त गरेको थियो। भारतीय लोकसभाका अध्यक्ष अनन्तशयन्म आयंगर, अमेरिकी कंग्रेसका तर्फबाट पठाइएको शुभकामना सन्देश र बेलायतको हाउस अफ कमन्सका सभामुख डब्ल्यू. एच. मरिसनले नेपालको संसद्लाई शुभकामना सन्देश पठाएका थिए।
सोही दिन साउन ९ गतेको बैठकमा सभामुख भट्टराईले पहिले भारतीय लोकसभाका अध्यक्ष अनन्तशयन्म आयंगरले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए। त्यसपछि अमेरिकी कंग्रेसका तर्फबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको थियो।
नेपाल र अमेरिकाका बीचमा सन् १९४७ मा नै दौत्य सम्बन्ध स्थापना भइसकेको थियो। सन् १९५८ अक्टोबरमा अमेरिकामा नेपालको दूतावास स्थापना भएको थियो। त्यस्तै नेपालको संसद्ले अमेरिकी संसद्को शुभकामना पाएको एक महिना पछि (सन् १९५९ अगष्ट) काठमाडौँमा अमेरिकाको दूतावास स्थापना भएको थियो।
८६ औं अमेरिकी कंग्रेसको पहिलो अधिवेशन सन् १९५९ जुलाईमा अमेरिकामा चलिरहेको थियो। त्यही असार-साउन महिनामा यता नेपालमा संसद्को अधिवेशन चलिरहेको थियो।
१६ जुलाई १९५९ (तदनुसार १ साउन २०१६) का दिन अमेरिकाको सदनमा नेपालबारेको विषयले प्रवेश पाएको थियो। अमेरिकी राज्य विस्कन्सिनबाट डेमोक्रेटिक दलबाट प्रतिनिधित्व गर्ने सांसद क्लेमेन्ट जोन ज्याब्लोकी थिए।
तिनै ज्याब्लोकीले नै त्यहाँको सदनमा नेपालको संसद्लाई अमेरिकी संसद्का तर्फबाट शुभकामना सन्देश पठाउनेबारे एक प्रस्ताव पेस गरे। साथै उनले आफ्नो त्यस प्रस्तावलाई सदनले सर्वसम्मत रूपमा पारित गरियोस् भन्ने मागसमेत राखेका थिए। सोहीअनुसार कुनै पनि सदस्यहरूको आपत्ति बिना सदनले सर्वसम्मतरूपमा ज्याब्लोकीको उक्त प्रस्ताव पारित गरेको थियो।
त्यतिबेला उक्त सदनमा नेपालसँग जोडिएका अर्का सदस्य कनेक्टिकट राज्यबाट प्रतिनिधित्व गर्ने चेष्टर बउल्स थिए। बउल्स सन् १९५२ फेब्रुअरीदेखि सन् १९५३ जुनसम्म नेपालका लागि अमेरिकी राजदूत थिए।
उनी त्यतिबेला दिल्लीमा बसेर नेपालसमेत हेर्ने भए पनि नेपालमा समेत आइरहन्थे। उनी अघिका राजदूतहरूले मिनिस्टरका रूपमा ओहदाको प्रमाणपत्र पेस गरेको भए पनि उनले पूरा एम्ब्यासडरकै हैसियतले राजा त्रिभुवन समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका थिए।
त्रिभुवन राजपथ बन्नु भन्दा अगावै डोली, घोडा, तामदान चढेर वा पैदलै हिँडेर काठमाडौँ आउने समयमा उनी त्यसै गरी काठमाडौँ आएका थिए। उक्त प्रस्ताव पारित हुँदै गर्दा त्यसै सदनमा बसेका बउल्सले आफू नेपालसँग प्रत्यक्षरूपमा जोडिएको भन्दै आफ्नो नेपाल भ्रमण रोचक भएको पनि स्मरण गरेका थिए।
नेपालमा भर्खरै संवैधानिक सुधारसँगै भएको निर्वाचनमा जनताको उल्लेख उपस्थिति सहित गठन भएका दुवै सदन नेपालको विकासको भविष्यका लागि महत्त्वपूर्ण रहेको पनि बताएका थिए। उनले पनि आफू प्रस्तावको पक्षमा रहेको प्रष्ट पारेका थिए।
संयुक्त राज्य अमेरिकाको ८६ औं कंग्रेसको पहिलो अधिवेशनको १६ जुलाईका दिन सर्वसम्मतिले पारित गरी नेपालको महासभा र प्रतिनिधिसभाका सभामुखलाई पठाइएको शुभकामना सन्देश यस्तो थियो।
सन्देश अंग्रेजीमा प्राप्त भएको भए पनि त्यतिबेला नेपाली अनुवादसहित सभामुखद्वारा सदन समक्ष सुनाइएको थियो। त्यतिबेला संसद्मा सभामुख भट्टराईले सुनाएको र त्यहाँको अभिलेखमा रहेको नेपाली अनुवाद यहाँ जस्ताको तस्तै राखिएको छ।
‘५४००० वर्गमिलभन्दा बढी क्षेत्र तथा ८५ लाख भन्दा बढ्ता जनसंख्या भएको स्वतन्त्र र स्वाधीन नेपाल अधिराज्य संयुक्त राष्ट्रसंघको सदस्य भएकोले, र नेपाल नरेश श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेव द्वारा दुई सदनयुक्त संसद, जस मध्ये एकमा बालिग मताधिकार द्वारा चुनिएका सदस्यहरु र अर्कोमा आधा प्रतिनिधिसभा द्वारा र आधा श्री ५ महाराजाधिराजबाट छानिएका सदस्यहरु रहने गरि १२ फेब्रुअरी १९५९ मा संविधान लागू गरि बक्सेकाले, र नेपालको इतिहासमा पहिलोपटक १८ फेब्रुअरी देखि ३ अप्रिल १९५९ सम्ममा स्वतन्त्र आमनिर्वाचन सम्पन्न भएकाले, र काठमाण्डौं नेपालमा पहिलो पटक नेपालको संसदको औपचारिक उद्घाटन जुलाई महिनामा हुने भएकाले, र यसै साथ यस सिनेट (प्रतिनिधिसभाको सहमति सहित), नेपाल अधिराज्यको संसदलाई यस ऐतिहासिक अवसरमा संयुक्त राज्य अमेरिकाको संसद तर्फबाट मैत्रीपूर्ण अभिनन्दन गर्ने निर्णय गर्दछ। साथै नेपाली जनताले आफ्नो नयाँ किसिमको शासन व्यवस्था मातहत निरन्तर सफलता प्राप्त गर्नेछन् भन्ने हार्दिक कामना प्रकट गर्दै नेपाल नरेश, नेपालको संसद र नेपाली जनताप्रति अमेरिकाको मैत्री भावना पुनः व्यक्त गर्दछ। साथै, यो प्रस्तावको नक्कलका प्रतिहरु नेपाली संसदको महासभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई पठाउने निर्णय गर्दछ।’
(प्रतिनिधिसभाको ६ साउन २०१६ को अभिलेख)