देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै बागलुङका विद्यार्थी

हिमाल प्रेस ४ कार्तिक २०८२ १२:२८
10
SHARES
देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै बागलुङका विद्यार्थी

बागलुङ- बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन्। पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन्।

तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अंग्रेजी गीतमा खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै संरक्षणका लागि त्यहाँका विद्यार्थीले पहल थालेका हुन्। बागलुङ बजारका चोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खासै चासो दिएको छैन। हिन्दी,अंग्रेजी र र्‍याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन्।

मगर विद्यार्थीले हिन्दी, अंग्रेजी गीतलाई स्थान दिएका छैनन्। उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन्। स-साना बालबालिकादेखि युवायुवतीले पुरानो भाका गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्यान त्यतातिर गएको छ।

मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमितिले यस वर्ष देउसी खेल्न थालेको हो। बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरू मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको जिल्लास्थित मगर विद्यार्थी संघका अध्यक्ष कृष्ण अठारे मगरले जानकारी दिए।

पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उहाँको भनाइ छ। खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अंग्रेजी गीतमा नाच्ने प्रचलन बढेको अध्यक्ष अठारेले बताए। मगर विद्यार्थी संघले बूढापाकाबाट प्रशिक्षण लिएर मौलिक गीत र नाचमा देउसी खेलेको उनको भनाइ छ। युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको अठारेले बताए।

सोरठी र मारुनी नाच मगर समुदायको पहिचान भएकाले यसलाई सिकेर अन्य युवालाई सिकाउन थालेको संघका सचिव प्रदीप थापामगरले जानकारी दिए। करिब चार वर्ष बूढापाकाबाट आफूले सोरठी र मारुनी सिकेको उनको भनाइ छ। गाउँका टीकाराम थापा, पदम श्रीसलगायतका बुढापाकाहरूबाट सोरठी सिकेपछि मगर विद्यार्थी संघमा आबद्ध विद्यार्थीलाई तालिम दिएर यस वर्ष देउसी खेल्न थालेको थापाले बताए।

देउसी खेलेर संकलन गरेको रकमले सांस्कृतिक साँझ गर्ने मगर विद्यार्थी संघले जनाएको छ। विद्यार्थी संघले विभिन्न समयमा भाषा, कला र संस्कृति संरक्षणमा काम गर्दै आएको छ। रासस

प्रकाशित: ४ कार्तिक २०८२ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast