भैरहवा विमानस्थलमा पलाएको आशा

कात्तिक ९ गतेदेखि एयर एसियाले जहाज उडाउने, १३ हजारमै थाइल्यान्ड पुग्न सकिने

विनोद परियार ३ कार्तिक २०८२ १२:१२
8
SHARES
भैरहवा विमानस्थलमा पलाएको आशा फाइल तस्बिर

बुटवल- गत अप्रिलदेखि नियमित अन्तर्राष्ट्रिय उडान रोकिएको गौतमबुद्ध विमानस्थलमा कात्तिक ९ (अक्टोबर २६) तारिखदेखि उडान सुरु हुने भएको छ। विमानस्थलका अनुसार थाई एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि उडान थाल्ने भएको हो।

‘थाई एयर एसियाको उडान तालिका बनिसकेको छ’, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने। उनका अनुसार एयरलायन्सहरूले यात्रुहरूको चापलाई दृष्टिगत गरेर चलाउन खोजेको जस्तो देखिएको छ।

‘जजिराका लागि यहाँबाट यात्रुको समस्या छैन, तर उसले उडान गरेन’ महाप्रबन्धक तिवारीले भने, ‘जजिरासँग पनि कुरा भइरहेको छ, तिहारपछि त्यसको पनि उडान हुन्छ।’ उनले दुईवटा सेडुयलमध्ये समरलाई त्यति धेरै नरोजेको बताए।

गत अप्रिलमा त्रिभुवन विमानस्थल मर्मतसमेत भएकाले भैरहवा विमानस्थलमा चाप बढेको थियो। त्यतिबेला दैनिक चारवटा उडान भएका थिए। पाँच महिनामा दुई सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ। त्यसयता केही चार्टर उडान मात्रै भएका छन्। करिब ६ महिनापछि बल्ल थाई एयर एसियाले उडान गर्ने भएपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको आशा पलाएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने उडानका लागि तम्तयार रहेको जाएको छ। विमानस्थलका सूचना अधिकारी विनोद रावतले आफूहरू विमान उडान र अवरतरणका सधैँ तयार अवस्थामा रहेको बताए। ‘हामी सबै हिसाबले तयार छौँ’, उनले भने।

काठमाडौँ पुग्ने पैसाले थाइल्यान्ड

दसैँका बेला काठमाडौँ भैरहवाको भाडा ८ हजार बढी पुगेको थियो। अहिले ५२ सयदेखि ७५ सयसम्म पर्छ। तर भैरहवादेखि थाइल्यान्ड हवाईभाडा १२ देखि १५ हजारको बीचमा गर्न पाइने भएको छ। थाइल्यान्डका पर्यटक नेपाल त्यो पनि सीधै बुद्धजन्मस्थल लुम्बिनीको आडैमा ओर्लन पाउने भएकाले गौतमबुद्ध विमानस्थल निकै उपयोगी हुने देखिन्छ।

उडानको नेपालीले समेत उपयोग गर्न सक्नेछन्। थाई एयर एसियाले आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरहवा बैंकक उडान हुनेछ। थाइल्यान्डको राजधानी बैंककबाट एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुला गरेको थियो। भैरहवाबाट थाइल्यान्ड उडानका लागि न्यूनतम १३ हजार ३६ रुपैयाँ भाडादर तोकेको छ।

कात्तिक ९ गते पहिलो दिनको टिकट दर १७ हजार ८५५ रुपैयाँ कायम गरेको छ। त्यसपछि कात्तिक १२, १६ र १९ गतेका उडानका लागि १३ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। यो एयर एसियाको वेबसाइटमा आइतबार दिउँसो देखिएको भाडादर हो। जहाजको भाडादर परिवर्तन भइरहन्छ। कात्तिक २३ गते १५ हजार ३५ रुपैयाँ देखाएको छ। त्यसपछिका उडानमा १३ हजार ३६ रुपैयाँ रहेको छ।

तालिकाअनुसार दिउँसो सवा १२ बजे एयर एसियाको जहाज भैरहवा आउनेछ। सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्नेछ। थाई एयर एसियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो। तर अप्रिल (चैत) बाट उडान रोकिएको थियो। थाई एयर एसियाको उडान हुने निश्चित भएकाले अब यसलाई दिगो रुपमा उडान भर्ने कार्यमा सबैले सहयोग गर्नुपर्ने चेम्बर अफ कमर्स  लुम्बिनीका अध्यक्ष टंक पोखरेलको भनाइ छ। उनले निजी एयर कम्पनीहरूले यात्रु नपाए फेरि नियमित उडान गर्न नसक्ने भन्दै यसतर्फ यहाँका पालिकादेखि पर्यटन व्यवसायी सबै एकजुट भएर लाग्नुपर्ने बताए।

‘भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउनुपर्छ’ पोखरेलले भने। उनले मुख्यगरी लुम्बिनीलाई लक्षित गरी आउने पर्यटकलाई यस क्षेत्रमा धेरै दिन राख्न सक्ने गरी ‘टुर प्याकेज’ बनाउनुपर्ने खाँचो औँल्याए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न लागेसँगै चहपहल बढ्ने भएको छ। अन्तर्राष्ट्रिय उडान, यात्रुहरूको सहजता र सुरक्षाका लागि विमानस्थल प्रशासन तयार रहेको महाप्रबन्धक तिवारीले बताए। फेरि हुन लागेको भैरहवा-बैंकक उडानको निरन्तरताका लागि पर्यटन व्यवसायीहरूको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले सबैको सक्रियताको खाँचो औँल्याए।

विमानस्थलमा यात्रु र मौसमलाई दोष देखाउँदै उडान रोकिने गरेको छ। विमानस्थलका अनुसार एक वर्षको अवधिमा ५ सय ५६ वटा अन्तर्राष्ट्रिय उडान र अवतरण भएको छ भने हालसम्म एक हजार ५७ वटा उडान अवतरण भएको छ। जसमध्ये २९ हजार ६२१ यात्रु भैरहवामा अवतरण गरेका छन् भने ३१ हजार ६४१ यात्रु बाहिरिएका छन्।

२०७१ साल माघ १ गते (जनवरी, १५ २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो भने २०७९ साल जेठ २ गते विमानस्थलको उद्घाटन गरिएको थियो। विमानस्थल करिब आठ सय बिघा क्षेत्रफलमा फैलिएको छ। ३ किलोमिटरको रनवे रहेको विमानस्थलमा फोर ई क्याटोगोरीको विमानस्थलमा नवौँ क्याटोगोरीका दमकलहरू छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरह उडान र अवतरण हुन सक्ने यहाँ चारवटा न्यारोबडी र एउटा वाईडबडी गरी पाँच वटासम्म ठूला जहाज पार्किङ गर्ने व्यवस्था छ।

प्रकाशित: ३ कार्तिक २०८२ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast