पूर्वमन्त्री सुमनाको प्रश्न- असली नेपाली को हो?

हिमाल प्रेस २९ असोज २०८२ १७:०४ | Wednesday, October 15, 2025
पूर्वमन्त्री सुमनाको प्रश्न- असली नेपाली को हो?

काठमाडौँ- पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपाली समाजमा बढ्दो विभाजन र ‘नागरिकता शंका संस्कृति’ प्रति टिप्पणी गरेकी छन्। उनले बुधबार  सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै ‘असली नेपाली’ को परिभाषामाथि प्रश्न उठाएकी हुन्।

श्रेष्ठले लेखेकी छन्, ‘खाँटी राष्ट्रवादी राजा महेन्द्रको नाम बोकेको महेन्द्रमालामा पढेको- विविधतामा एकता। राम्रो सुनिनलाई मात्र रहेछ। व्यवहारमा चैँ आँखा चिम्सो देख्यो- तिब्बती शरणार्थी, छाला कालो देख्यो- बिहारी, उहाँहरूको नागरिकता नक्कली भनिहाल्ने।’

उनका अनुसार अहिले नेपालमा जो कोहीको नागरिकतामाथि सहजै शंका गर्ने प्रवृत्ति बढ्दै गएको छ। उनले प्रश्न गर्दै लेखेकी छन्,‘कहिले सुदनको नागरिकतामा प्रश्न उठाएको छ, कहिले टासीको, असली नेपाली भनेको को हो त?’

पूर्वमन्त्री श्रेष्ठले विदेशमा अध्ययन वा रोजगारीका कारण पनि मानिसमाथि अनावश्यक आरोप लगाउने प्रवृत्तिको आलोचना गरेकी छन्। उनले लेखेकी छन्, ‘देउवाले अक्सफोर्डमा पढेको मान्छे किन चाहियो भनेको पनि ठिक रहेछ हैन त? विदेशी विश्वविद्यालयमा पढ्ने बित्तिकै त्यहीको खुफिया एजेन्ट हुने रहेछ त? राजा विरेन्द्र पनि इटन पढेका, उहाँ पनि बेलायती एजेन्ट?’

उनले लेखेकी छन्,‘पश्चिममा गएका नेपालीहरू अमेरिकन एजेन्ट, खाडिमा गएकाहरू इस्लामिक अतिवादीका हिमायती, भारतमा पढ्न गएका भारतीय एजेन्ट- यदि सबैलाई त्यस्तै भनिदिने हो भने बाँकी को रहन्छ?’

श्रेष्ठले नेपाली समाजमा बढ्दो अविश्वास र हल्लाको राजनीतिप्रति पनि चिन्ता व्यक्त गरेकी छन्।

सुमना श्रेष्ठमाथि ओलीको टिप्पणी  : नेपाल घुम्न आएकी मन्त्री पो भइन्

सुमनाको भनाइ

खाँटी राष्ट्रवादी राजा महेन्द्रको नाम बोकेको महेन्द्रमालामा पढेको – “विविधतामा एकता” । राम्रो सुनिनलाई मात्र रहेछ । व्यवहारमा चै आँखा चिम्सो देख्यो – तिब्बती शरणार्थी, छाला कालो देख्यो – बिहारी, उहाँहरूको नागरिकता नक्कली, पक्कै पैसा खुवाएर निकालेको हुनै पर्छ भनिहाल्ने ।
कहिले सुदनको नागरिकतामा प्रश्न उठाएको छ, कहिले टासीको, असली नेपाली भनेको को हो त ? विदेशमा कसैले “Are you Indian” भनेर सोध्दा कतिलाई रिस उठेको छ? “नेपाली” जस्तो नदेखिनेलाई आफ्नै देशमा नागरिकताको आधिकारिकता पुष्टि गर्न पर्दा कस्तो हुन्छ? देउबाले अक्सफोर्डमा पढेको मान्छे किन चाहियो भनेको पनि ठिक रहेछ हैन त उसो भए, विदेशी विश्वविद्यालयमा पढ्ने बित्तिकै त्यहीको खुफिया एजेन्ट हुने रहेछ त । राजा विरेन्द्र पनि इटन पढेका, उहाँ पनि बेलायती एजेन्ट? यसरी अपमान गर्ने, जति खेर पनि राष्ट्रियताको अग्निपरिक्षा लिराख्ने भए विदेशमा पढेर कोही किन फर्कन्छ? अहिले हरेक परिवारको कोहि न कोहि विदेश गएको छ। पश्चिमा देशमा गएका र उसको परिवार सब अमेरिकन एजेन्ट, युरोपियन दलाल, खाडिमा काम गर्न गएकाहरूको परिवार इस्लामिक अतिवादीका हिमायतीहरू, भारतमा पढ्न गएका, काममा गएकाहरूलाई भारतीय रअको एजेन्ट मानिदिने हो भने को चाहि बाँकी हुन्छ? जो पनि एजेन्ट, जो पनि दलाल, जहाँ पनि षडयन्त्र। अनि हामी पत्याइ दिने पनि, भूपिले यो हल्लै हल्लाको देश तेसै भनेका हैन रहेछन्। हामी साँच्चै आफ्नै बलबुँतामा केही केही गर्न नसक्ने निकम्मा नै रहेछौँ त? यस्तो कसैलाई पनि विश्वास गर्न नसक्ने वातावरण बनाएर आफ्नै देशको मानिसलाई अपमानित गरेर कसलाई फाइदा पुग्छ? केही कुरा पत्याइहाल्न अगाडि कसले भनेको रहेछ, त्यो मान्छेले पहिले के भनेको रहेछ पनि हेरौँ, हल्ला फैलाउनेहरू पनि परिचालित हुन सक्छन् भन्ने हेक्का राखौँ, आफूलाई शंका लागेको कुरा भटाभट शेयर नगरौँ ।
हामीले गर्व गर्न लायकको सामाजिक सद्भावलाई बचाइ राखौँ ।

प्रकाशित: २९ असोज २०८२ १७:०४ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast