
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेलेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले राष्ट्रपतिको भूमिकाको प्रशंसा गरेका हुन्।
‘म राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलज्यूलाई यस बैठक मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु। त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको छ’, देउवाले भने।
भदौ २४ गते आन्दोलन चर्किएपछि दुई तिहाई बहुमत नजिकको कांग्रेस र एमालेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्याग गरेर बालुवाटारबाटै हेलिकोप्टर चढेर सुरक्षित स्थानतर्फ लागेका थिए। त्यसपछि राष्ट्रपति पौडेलले अभिभावकीय भूमिका निर्वाह गर्दै निर्दलीय प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिस्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने बताए। उनले भने, ‘उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ।’
यसैगरी देउवाले अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्तभन्दा पनि सुनियोजित र योजनाबद्ध थियो भन्ने कुरा घटना पछि बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेको बताए।
देउवाले यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्नेमा जोड दिए। उनले भने, ‘अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ।’ देउवाले देशमा सबै महत्त्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था रहेको भन्दै यस अवस्थामा देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्ने बताए। उनले भने, ‘अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान गर्नु पर्दछ।’
देउवाले भदौ २३ र २४ गतेको घटनामा परी ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै उनले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनका क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लिई निर्दोष नवयुवकहरुको ज्यान गएको दाबी गरे।