
काठमाडौँ- इजरायलमा कार्यरत रहेका बेला हमास समूहको कब्जामा परेका नेपाली युवक बिपिन जोशी जीवित नरहेको जानकारी इजरायली अधिकारीले गराएका छन्। दुई वर्षअघि हमासले नियन्त्रणमा लिएका जोशी जीवित नरहेको खबर इजरायली अधिकारीले दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हिमालप्रेसलाई बताए। इजरायली अधिकारीले बिपिनको परिवार र इजरायलका लागि नेपाली राजदूत पण्डितलाई उनी जीवित नरहेको संयुक्त रूपमा भिडियो कन्फ्रेन्समार्फत आज बिहान जानकारी दिएका हुन्।
पण्डितले दिएको जानकारीअनुसार बिपिन जीवित नरहेको सूचना इजरायली अधिकारीले परिवारजनलाई समेत दिइसकेका छन्। हाल साइप्रस भ्रमणमा रहेका राजदूत पण्डितले बिपिनको दुःखद् खबर आए पनि उनको शवको अवस्थाबारे जानकारी नभएको बताए। पूर्वजानकारी दिएर बन्धक छाड्ने भनिए पनि राजदूत पण्डित भने घुमघाममा व्यस्त रहेको भन्दै आलोचना भइरहेको छ।
‘५० जना बाँकी रहेका बन्धकमध्ये सातजनालाई हमासले बिहानै छाडिसकेको छ। जसमध्ये दुईजनाको अवस्था अझै अज्ञात छ। सात जनाको शव फेला नपरेको जानकारी छ। बिपिन मृतक भनिए पनि उनको शव छ वा छैन खुलाइएको छैन’, राजदूत पण्डितले भने।
राजदूत पण्डितका अनुसार ५० मध्ये २० जना जीवित र २८ जनाको मृत्यु भएको पुष्टि यसअघि नै गरिसकेको थियो। जीवित रहेकालाई आज रिहाइ गर्ने प्रक्रिया चलिरहेको छ। हमास समूहले बिपिनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भएको थियो। हमास समूहले सोमबार उसको कब्जामा रहेका २० जनालाई इजरायलसमक्ष हस्तान्तरण गरेको छ।