
पोखरा- दुई सातादेखि विभिन्न माग राख्दै आन्दोलित हुँदा पनि माग सम्बोधन नभएको भन्दै मणिपाल शिक्षण अस्पताल, पोखराका नर्स आक्रोशित बनेका छन्। सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधालाई प्राथमिकता दिएर नौ बुँदेमागसहित उनीहरू आन्दोलित भएका हुन्।
पोखरा–११, फूलबारीस्थित अस्पताल परिसरमा दिनहुँ नर्स विभिन्न माग अंकित प्ले–कार्ड र ब्यानर बोकेर सेतो एप्रोनमा नाराबाजी गरेर उनीहरू माग सुनाउने प्रयत्न गरेका छन्।
अस्पतालजस्तो अतिसंवेदनशील क्षेत्रमा यसरी लगातार आन्दोलन भइरहँदा बिरामीहरुसमेत अन्यत्र रेफर गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ। शनिबार सुरक्षाको कारण देखाउँदै मणिपालका २ सयजना बिरामी पोखराकै अन्य अस्पतालमा रेफर गरिएको अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले बताए। आइतबार इमर्जेन्सीसहित ओपिडी सेवा त सञ्चालन भयो, तर नर्सहरुसँगको वार्ता विफल भएकाले उनीहरु काममा फर्किन मानेका छैनन्।
यहाँ कार्यरत् १२ सय कर्मचारीमध्ये नर्सहरु मात्र ३६६ जना छन्। नर्सहरुमध्ये झण्डै २ सयजनाले सरकाले तोेकेअनुरुप न्यूनतम पारिश्रमिक नदिइएको, अतिरिक्त काम गर्नुपरेको, बिदा नपाएको, जोखिम क्षेत्रमा काम गर्नुपरे पनि अतिरिक्त भत्ताबाट वञ्चित गरिएको, यातायात सुविधासमेत नदिइएको गुनासो गरेका छन्। उल्टै अस्पताल प्रशासनले नै इमेलमार्फत आफूहरुलाई धम्क्याउँदै जागिरबाट निकाल्ने चेतावनी दिएको पनि गुनासो गरेका छन्।
अस्पताल प्रशासनले आफूहरुलाई आधा पनि तलब नदिई अपमान गरेको एक नर्सको रोदन थियो। आफूहरुसँगै पढेका साथीहरु धेरैजना विदेश गइसकेको उल्लेख गर्दै उनले अस्पतालको श्रमशोषणले आफूहरुलाई पनि विदेश जान बाध्य पारेको उनको भनाइ छ।
स्वास्थ्य क्षेत्रमा पाँचौ तहको तलबमान ३४ हजारसम्म छ। तर, १५ हजार तलबले अहिलेको महँगीमा आफ्नो गुनारा नचल्ने अधिकांश नर्सको भनाइ छ। यो समस्या मणिपालमा मात्र होइन, भरतपुर, नेपालगञ्जलगायतका निजी अस्पतालका नर्सहरुको समस्या समान रहेको पाइन्छ ।
यसैबीच, अस्पतालका निर्देशक नारायण पौडेलले नर्सहरुलाई ३० हजारसम्म सेवासुविधा दिइएको दाबी गरे। पोखराका अन्य निजी अस्पतालको तुलनामा मणिपालमा नर्सहरुको सेवासुविधा माथि नै रहेको जिकिर गरे। उनले कुनै पनि समस्या वार्ता र संवादबाट हल हुने उल्लेख गर्दै उनले अस्पतालजस्तो अतिसंवेदनशील क्षेत्रमा हड्ताल गरेर बिरामी त्रसित पार्न नहुने बताउँछन्।
अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले कुनै पनि कुराको समाधान हुने भन्दै ‘काम पनि गर्दै जाऔं, संवाद पनि गर्दै जाऔं’ भन्छन्। उनले भने, ‘हाम्रो आधार भनेकै बिरामी जाँच्ने, त्यहाँबाट आउने पैसाबाटै चल्ने हो । अन्य आर्थिक स्रोत छैन।’ नर्सहरुले आफ्नो माग पूरा गर्न शुक्रबारसम्मको अल्टिमेटम दिएका थिए । तर, २ दिनसम्म वार्ता हुन नसकेकोमा आइतबारको वार्ता पनि निष्कर्षविहीन टुंगिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तोकेबमोजिम दिन निर्देशन दिएको छ। मन्त्रालयले सबै प्रतिष्ठान, सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल कलेजलाई पत्र लेख्दै गत २७ मंसिरमा भएको सेवा सुविधासम्बन्धी पाँचबुँदे व्यवस्था तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
यसअघि, जारी निर्देशनहरू अझै पूर्णरूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन अनुरोध पनि गरिएको छ । नर्सहरुले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। भारतीय समूहले संचालन गर्दै आएको मणिपाल ४ वर्षअघि पोखराकै बतास समूहका आनन्दराज बतास र अटोवेजका प्रालिका संचालक नारायण पौडेलसमेतको समूहले खरिद गरेको हो।