पहिले प्रहरी, अहिले सफल उद्यमी

हिमाल प्रेस २६ असोज २०८२ १८:०१
10
SHARES
पहिले प्रहरी, अहिले सफल उद्यमी

धरान (सुनसरी)- करिब ९ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित भएका छन्। सानो लगानीबाट सुरु गरिएको उनको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ।

विसं २०३६ मा ओखलढुंगामा जन्मिएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै आएका छन्। प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी २०६३ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

करिब तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै उनले लामो समय मासुपसल सञ्चालन गरे। सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा सम्भावना देखेर व्यावसायिक रूपमा अघि बढ्ने प्रेरणा मिलेको उनले बताए।

२०७० मा ‘सुनसरी एग्रो मिक्स फार्म’ स्थापना गरेको उनले २०७४ सालमा पुनः ‘झुम्का अर्गानिक कृषि फार्म’ दर्ता गरे। हाल उनले झण्डै चार बिघा क्षेत्रफलमा आधुनिक शैलीमा सुँगुर, कुखुरा र बाख्रापालन गर्दै आएका छन्। साथै, अन्य चार बिघा जमिनमा धान, मकैलगायत अन्नबालीसमेत गर्दै आएका छन्।

विदेशमा काम गर्दा धेरै मेहनत गरेर कमाए पनि खासै बचत नहुने अनुभव सुनाउँदै उनले भने, ‘त्योबेला लाग्थ्यो आफ्नै देशमा पसिना बगाएर काम गर्दा त्यसको प्रतिफल पनि आफ्नै हातमा पर्छ।’ त्यही सोचले तीन वर्षको वैदेशिक बसाइपछि स्वदेश फर्केर व्यवसाय सुरु u/]. व्यवसाय सुरु गर्दा विभिन्न सानातिना चुनौतीको सामना गर्नुपरेको उनले बताए।  ‘पशुपालनसम्बन्धी प्राविधिक ज्ञान थिएन, बजारको अवस्था पनि स्थिर नहुनु कहिले राम्रो उत्पादन हुन्थ्यो, तर बिक्री मूल्य नपाइने समस्या थियो,’ उनले भने, ‘तर सिक्दै जाँदा व्यवसायमा टिकाउपन आयो। परिवारको साथ र सहयोगले पनि धेरै सहज भयो।’

उनले सुरुमा दुई/तीन सय लेयर्स कुखुराबाट व्यवसाय थालनी गरेका थिए। विस्तारै सुँगुर र बाख्रापालनतर्फ पनि लगानी विस्तार गर्दै गए। अहिले फार्ममा करोडौँको लगानी भइसकेको उनले  बताए। तालिमबिनै व्यवसाय सुरु गरे पनि काम गर्दै जाँदा सिकेको उनी बताउँछन्। ‘विभिन्न स्रोतबाट तालिम लिँदै आधुनिक कृषि प्रणालीको ज्ञान प्राप्त गरेँ। अहिले व्यवसाय सन्तोषजनक छ,’ उनले भने।

धरानबाट बग्ने सर्दु खोलामा आएको बाढीले फार्ममा ठूलो क्षति पुर्‍यायो। गत असोज १७ गते शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि आएको बाढीले फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगाएर लगेको उनले जानकारी दिए। कार्कीका अनुसार फार्ममा झण्डै ३०० भन्दा बढी सुँगुर थिए। तर १८ गते राति एक्कासि आएको बाढीले ठूला माउ सुँगुरदेखि साना पाठासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएर लगेको उनले बताए। अहिले फार्ममा करिब ७० वटा सुँगुर मात्र बाँकी रहेको उनको भनाइ छ।

बाढीका कारण ४० भन्दाबढी साना पाठा सुँगुर पानीमा डुबेर मरेका छन्। मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका धेरै सुँगुर बगाएर लगिएको उनले बताए। तिहारका लागि बिक्री गर्न तयारी अवस्थामा राखिएका सुँगुरसमेत बगाएर लगेपछि आर्थिक क्षति झनै बढेको छ।

बाढीपछि फार्मको भौतिक संरचना मर्मत तथा व्यवस्थापन सुधारको काम सुरु गरिएको कार्कीले बताए। फार्मको सिँचाइ, बाढी नियन्त्रण र निकास व्यवस्थालाई प्राथमिकतामा राखेर पुनःस्थापनाको काम अगाडि बढाएको उनले बताए।

उनले कृषिबाट कार्की आफूले मात्र कमाएका छैनन्, अरूलाई पनि रोजगारी दिएका छन्। अहिले फार्ममा १६ जनालाई रोजगार मिलेको छ।

कुखुरा फार्म र दाना उद्योग

उनले सुनसरी एग्रो मिक्स फार्मसँगै दाना उद्योगसमेत आफैँले सञ्चालन गर्दै आएका छन्। अहिले उहाँको फार्ममा लेयर्स हाइलाइन र लोमेन जातको ३० हजारभन्दा बढी कुखुरा पालेका छन्। कार्कीले आधुनिक प्रविधियुक्त ‘क्लोज हाउस’ प्रणाली र परम्परागत ‘डिप लिटर’ प्रविधिबाट दैनिक हजारौँ अण्डा उत्पादन गर्दै आएका छन्।

उनका अनुसार फार्ममा सञ्चालनमा रहेका  ‘क्लोज हाउस’ खोरको कुल क्षमता २३ हजार रहेको छ, जसबाट दैनिक करिब २० हजार ७०० भन्दाबढी अण्डा उत्पादन हुँदै आएको छ। त्यस्तै डिप लिटर प्रणालीमा रहेका दुई कुखुरा खोरको क्षमता आठ हजार रहेको छ, जसबाट दैनिक सात हजारभन्दा बढी अण्डा उत्पादन हुन्छ। दुवै प्रणालीबाट हाल दैनिक झण्डै २८ हजारभन्दा बढी अण्डा उत्पादन भइरहेको कार्कीले बताए।

फार्ममा उत्पादित अण्डा स्थानीय बजार इटहरी, धरान, विराटनगर, झापालगायत क्षेत्रमा आपूर्ति गरिँदै आएको छ। केही भाग काठमाडौँसम्म बिक्रीका लागि पठाइन्छ। उनका अनुसार पछिल्लो समय अण्डाको बजार मूल्यमा सुधार देखिएको छ। केही समयअघि मूल्यमा गिरावट आए पनि अहिले बजार मूल्य राम्रो भएको उनले बताए।
कार्कीले आफैँले दाना उद्योग पनि सञ्चालन गर्दै आएका छन्। ‘हामी बाहिरबाट दाना किन्नु पर्दैन, आफ्नै उद्योगबाट उत्पादन गरिएका दाना खोरमा प्रयोग गर्छौं, जसले उत्पादन लागत घटाउन मद्दत पुगेको छ,’ उनले भने।

उनका अनुसार प्रारम्भिक चरणमा सीमित ज्ञानका साथ कुखुरापालन सुरु भए पनि पछिल्ला वर्षहरूमा आधुनिक प्रविधि र अनुभवले फार्मलाई व्यावसायिक मोडेलका रूपमा स्थापित गरेको छ।

उनले कुखुरा व्यवसायमा लगानी र जोखिम दुवै रहेको बताउँदै, उत्पादन लागत र बजार मूल्यबीच सन्तुलन कायम राख्न व्यवसायीका लागि चुनौती हुने उल्लेख गरे।

उनका अनुसार व्यवसाय सुरु गर्न ठूलो पुँजीभन्दा पनि दृढ मनोबल र निरन्तर प्रयास चाहिन्छ। ‘सुरुआतमा ज्ञान सीप हुँदैन गल्ती हुन्छ, तर त्यसैबाट सिकाइ पनि सुरु हुन्छ डराएर होइन, लगनका साथ अघि बढे सफलता पक्कै पाइन्छ। जब काममा विश्वास बढ्छ, बजार आफैँ आउँछ,’ उनले भने। रासस

प्रकाशित: २६ असोज २०८२ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast