
काठमाडौँ- विपद्मा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराइने भएको छ। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषद्को १९ औं बैठकले विपद् घटनाका मृतक र बेपत्ताका परिवारलाई तत्काल राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ।
बैठकले बेपत्ता व्यक्तिहरुको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन एवं विपद्बाट विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरु यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन, अवरुद्ध खानेपानी, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
परिषद् बैठकले विपद्पश्चात फैलन सक्ने महामारीको आकलन गरी महामारीजन्य रोग फैलन नदिन सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।
बैठकमा संघीय मन्त्रीहरू, बागमती, मधेश प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।