काठमाडौँ- कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले आगामी फिल्म २०८३ सालको दसैँमा ल्याउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यसवर्ष दसैंमा आफ्नो फिल्म नभएको बताउँदै आगामी वर्षको दसैँमा भेट हुने बताएका हुन्।
‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दसैँमा सोचे जस्तो पक्कै भएन होला ! हामीले पनि यो साल फिल्म ल्याउन सकेनौँ’ उनले लेखेका छन्, ‘तै पनि दसैँमा प्रदर्शन भएका नेपाली फिल्महरूलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद। अर्को साल दसैँमा भेटौंला।’
विगतका दसैँमा फिल्म ‘छक्का पन्जा’ को पाँचौ सिक्वेलसम्म प्रदर्शन भयो। यो टिमको यस वर्ष फिल्म प्रदर्शन भएन्। ‘छक्का पन्जा’ को सिक्वेल हेर्ने बानी परेका केही दर्शकहरूले सामाजिक सञ्जालमा यस वर्ष फिल्म नहुँदा केही खल्लो महसुस गरेको टिप्पणी पनि गरेका छन्। त्यसैले गिरीले अर्काे साल आउने जानकारी दिएका हुन्।
‘छक्कापञ्जा कमेडी टुर’का लागि गिरी अहिले अमेरिकामा छन्।



