माओवादी निष्कर्ष : संविधान र व्यवस्था चुनावबाट मात्रै जोगाउन सकिन्छ

हिमाल प्रेस २० असोज २०८२ १५:०४
22
SHARES
माओवादी निष्कर्ष : संविधान र व्यवस्था चुनावबाट मात्रै जोगाउन सकिन्छ

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संविधानको निरन्तरता र व्यवस्थाको स्थायित्वका लागि निर्धारित मितिमै चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको छ।

माओवादी महाधिवेशन आयोजक समितिको सोमबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता  अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनले पार्टीले निर्वाचन सफल पार्नका लागि सबै दलहरूसँग छलफल जारी राखेको सापकोटाले बताए।

बैठकपछि सापकोटाले सञ्चारकर्मीसँग भने, ‘हाम्रो पार्टीले घोषित मितिमै निर्वाचन गर्नका लागि सकारात्मक वातावरण बनाउन नेतृत्वदायी भूमिका खेलिरहेको छ। अन्य दलहरूसँगको छलफल सकारात्मक भइरहेको छ।’ चुनावमा जाने विषयमा सबै प्रमुख दलबीच आमसहमति जस्तै बनेको दाबी सापकोटाले गरे।

उनले भने, ‘चुनाव गरेर मात्रै अहिलेको संविधानलाई निरन्तरता र व्यवस्थालाई जोगाउन सकिन्छ। चुनाव गर्ने कुरालाई पार्टीले शीर्ष प्राथमिकतामा राखेको छ।’ सापकोटाले पार्टीले आफ्ना कमीकमजोरीका बारेमा समीक्षा गरिरहेको बताए। उनले भने, ‘अरू पार्टीलाई पनि समीक्षा गर्नुपर्छ भन्ने कुरा हामीले सल्लाह गरिरहेका छौँ।’

बैठकमा देशैभरि आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिको समीक्षा भएको सापकोटाले बताए। यसैगरी पुनर्निर्माणका लागि एकजुट भएर लाग्न बैठकले आह्वान गरेको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चालाई विस्तार गर्ने सन्दर्भमा र पार्टी एकताका सम्बन्धमा ब्रिफिङ गरेका थिए। सापकोटाले भने, ‘एकताका सम्बन्धमा बृहत् र सकारात्मक छलफल भइरहेको छ। एजेन्डा मिल्नेहरूसँग संयुक्त मोर्चालाई विस्तार गर्ने कुरामा पनि छलफल भइरहेको छ।’ बैठकमा विशेष महाधिवेशन मिति भने आयोजक समितिको विस्तारपछि तोक्ने सापकोटाले बताए।

प्रकाशित: २० असोज २०८२ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast