
काठमाडौँ- इलाममा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। पहिरोमा परी इलाम नगरपालिका–६ घोसमा ६ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
यसैगरी सूर्योदय-१ मानेभन्ज्याङमा पाँच, माइजोगमाई गाउँपालिका-५ प्याङमा चार, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा तीन, देउमाई नगरपालिका-५ धुसेनीमा दुई, धारे भन्ने ठाउँमा एक, सन्दकपुर गाउँपालिका-१ छाँगेमा एक र फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा एकजनाको ज्यान गएको सम्बन्धित पालिकाका जनप्रतिनिधिले बताए।
सशस्त्र प्रहरी बलका अनुसार देउमाई-५ धुसेनीस्थित दीपक लिम्बूको घर पहिरोले पुरिएर नाम नखुलेको दुईजनाको मृत्यु हो। यसैगरी माङसेबुङ गापा ५ स्थित पार्टीगाउँमा मदन लिम्बूको घर पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।
विभिन्न स्थानमा गएको पहिरोले इलाममा १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। उनका अनुसार सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका बेपत्ता भएकी छन्। माङ्सेबुङ गाउँपालिकामा दुईजना गम्भीर घाइते भएको जानकारी आएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल खटिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी भोलनाथ गुरागाईँले पहिरोपीडितको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए।