दुई समुदायबीच तनाव बढेपछि जनकपुरमा निषेधाज्ञा

हिमाल प्रेस १८ असोज २०८२ १०:५१
20
SHARES
दुई समुदायबीच तनाव बढेपछि जनकपुरमा निषेधाज्ञा

काठमाडौँ- दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम वडा नम्बर २० आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

बडादसैँको अन्तिम दिन शुक्रबार दुर्गाको प्रतिमा सेलाउने क्रममा जनकपुरधाम उपहानगरपालिका–२० देवपुरा रुपैठामा दुई समुदायबीच तनाव भएको थियो।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा अर्को आदेश नभएसम्मका लागि शुक्रबार साँझ साढे ६ बजेदेखि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशअनुसार देवपुरा रुपैठा पूर्वतर्फ लोहना जाने बाटो, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तरतर्फ बाबा पेट्रोल पम्प (सिक्सलेन) र दक्षिणतर्फ गंगुली पुलसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञा अवधिभर भेला, अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा, आगजनी, तोडफोडजस्ता कार्यहरू नगर्न सूचनामा उल्लेख गरिएको छ।

आदेश उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम–२० देवपुरा रुपैठामा दुई समुदायबीच पटक–पटक विवाद भएर झडप हुने गरेको छ। केही दिनअघिमात्र विश्वकर्मा पूजामा मुर्ति सेलाउने क्रममा पनि दुई समुदायबीच झडप भएको थियो।

प्रकाशित: १८ असोज २०८२ १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast