दसैँ किनमेल : न उपभोक्ताको ‘मुड’ छ न बजारमा उत्साह 

विनोद परियार १३ असोज २०८२ ११:४८
4
SHARES
दसैँ किनमेल : न उपभोक्ताको ‘मुड’ छ न बजारमा उत्साह  बुटवल बजार। तस्बिर : हिमालप्रेस

बुटवल- नेपालीहरूको ठूलो पर्व दसैँ संघारमै आइपुग्यो। सबैजसोले किनमेल गरिसके। पश्चिम नेपालको व्यापारिक हब मानिने बुटवल बजारमा भने उत्साहजनक व्यापार भएन। यस वर्ष बजार ‘मुड अफ’ जस्तै बन्यो। भदौ २३ र २४ जेनजी आन्दोलन र त्यसपछिको वातावरणले चाडबाडमा पनि अन्योलपूर्ण देखिएको हो।

उसै त आर्थिक मन्दीका कारण बुटवल बजारमा व्यापार सुनसान बनेकै थियो। जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक घटनाक्रमले व्यापार व्यवसायमा पनि अलमल छाएको छ। बुटवल हाटबजारमा भेटिएकी बुटवल बेलबासकी आशा गुरुङ (५५ वर्ष) ले यस वर्ष अत्यावश्यक सामान मात्रै किनेको सुनाइन्।

‘छोरीछोरीका लागि एकएक सेट कपडा र केही खाद्यान्न मात्रै किनियो’, उनले भनिन्, ‘देशको अवस्थाले भएको पैसा पनि खर्च गर्ने अवस्था छैन।’ गुरुङजस्तै बजार निस्किएका उपभोक्ताहरूले अत्यावश्यक सामान मात्रै किनमेल गरेको देखिन्छ। यस्तो हुनुको पछाडि वर्तमान घटनाक्रम नै मुख्य कारण देखिएको छ।

‘यो वर्ष उपभोक्ताको मुड नै बनेको छैन, बजारमा कुनै उत्साह छैन’, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने। उनका अनुसार पछिल्लो घटनाक्रमले शून्यता छाएको छ। उनले यस वर्ष दसैँमा पोहोर-परारजस्तो व्यापार नभएको बताए। ‘अर्कोतर्फ बाढीपहिरोले सडक यात्रा अस्तव्यस्त भएकाले पनि उत्साह कम भएको होला’, उनले भने। अध्यक्ष अर्यालले पचास प्रतिशत व्यापार घटेको बताए। ‘यतिखेर बुटवल बजारमा पार्किङ अस्तव्यस्त हुन्थ्यो, तर अहिले त्यस्तो छैन’, उनले भने।

अर्यालको भनाइमा सहमति जनाउँदै बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्म भन्छन्, ‘अहिले एक त व्यापार हवात्तै घट्यो, अर्कोतर्फ पछिल्लो आन्दोलनपछि असुरक्षित अनुभव भइरहेको छ।’ उनले नेपालीका महत्त्वपूर्ण चाडपर्वको समयमा यस्तो सुनसान विगतमा कहिल्यै नभएको बताए। ‘यो वर्ष तीजको समयमा पनि खासै व्यापार भएन। दसैँको बेलामा ग्राहक पर्खेर बस्नुपरेको छ’, उनले गुनासो गरे।

नवगुल्मेली सुनचाँदी पसलका सञ्चालक उनले सुनको मूल्यसमेत अत्यधिक वृद्धि भएकाले असर गरेको बताए। उनी मात्रै होइनन् बुटवल अमरपथमा सिवानी साडी सेन्टर सञ्चालन गर्दै आएका खड्कबहादुर थापाले समग्रमा व्यापार घटेको बताए। उनले बजारको पहुँच समेत विस्तार हुनु र पछिल्लो घटनाक्रमले मानिसमा मितव्ययी खर्च गर्ने परिपाटीका कारण व्यापार घटेको बताए।

भारतीय सीमा नजिकै हुँदा पनि बुटवलजस्ता सहरमा व्यापार कम भएको उनीहरूको भनाइ छ। ‘सुनौली नाकाको भन्सार चेकिङमा कडाइ गर्ने हो भने नेपाली बजार गुल्जार हुने थियो’, थापाले भने।
बुटवल बजारमा अत्यावश्वक सामान कपडा, खाद्यान्न र मोबाइलको केही व्यापार भएको देखिन्छ। तर उत्साहजनक छैन।

बुटवल अमरपथमा न्यु चाँद कस्मेटिक पसल सञ्चालन गर्दै आएकी टिका सुनारले व्यापार प्रत्येक वर्ष घट्दो क्रममा रहेको सुनाइन्। उनले पनि सीमा क्षेत्रमा कडाइ नहुँदा नेपाली बजारमा प्रत्यक्ष असर पारेको बताइन्।

त्यसो त सीमा बजारको प्रत्यक्ष असरका कारण बुटवलभन्दा बढी भैरहवा बजार प्रभावित हुने गरेको छ। दसैँ, तिहार, छठजस्ता ठूला चाडपर्वका बेला उपभोक्ता भैरहवा नजिकैको सुनौली बजार जाने भएकाले त्यसलाई दृष्टिगत गर्दै केही वर्षदेखि सिद्धार्थनगर उद्योग वाणिज्य संघले दसैँ सस्तो बजार सञ्चालन थालेको छ। सिद्धार्थ उद्योग वाणिज्य संघले असोज ८ देखि १२ गतेसम्म बजार सञ्चालन गरेको थियो।

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सीमा क्षेत्रको बजारमा उपभोक्ता रोक्नका लागि दसैँ सस्तो बजार सञ्चालन गरेको बताए। स्वदेशी बजारको प्रवर्धनमा जोड दिँदै बजार सञ्चालन गर्दा उपभोक्ता रोक्न सकिएको उनले बताए। भैरहवामा पहिलोपटक २०५८ सालमा दसैँ र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० साल र अहिले पाँचौँ पटक दसैँबजार सञ्चालन गरिएको हो।

संघका महासचिव कृष्णप्रसाद घिमिरेले दशैं सस्तो बजारले सुनौली जाने उपभोक्ता रोक्न सफल भएको बताए। यति हुँदाहुँदै पनि यस वर्ष व्यापार मध्यम रहेको उनले बताए।

जेनजी प्रदर्शनका क्रममा युवाहरूको मृत्यूले पनि धेरैलाई दुखी तुल्याएको छ भने आगजनी र तोडफोडले मानिसमा किनमेल र रमाइलो कम गराएको छ। यस वर्ष भदौ २३ र २४ को घटनाले मानिसमा निराशा र अन्योल सिर्जना गरेको उपभोत्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जीसी बताउँछन्। ‘बजार सुनसान हुनुमा वर्तमान राजनीतिक गतिविधि हो’, उनले भने।

उनले उभोक्ताहरूमा दसैँको मुखमा कृत्रिम अभाव हुने सन्त्रास रहेको बताए। उनी यसका लागि सरकारी निकायले अनुगमन गर्नुपर्नेमा जोड दिन्छन्। तर जेनजी आन्दोलनपछि स्थानीय प्रशासन र सरकारले कुनै पनि चासो लिएको छैन। अनुगमनको कुरा मात्रै होइन सुरक्षा प्रशासनसमेत चुस्त बनेको छैन्।

यातायात क्षेत्रमा सडककै कारण सास्ती

दसैँको मुखमा सडकको अवस्थाले गर्दा यातायात क्षेत्र निकै प्रभावित भएको छ। काठमाडौँबाट बाहिरिने गाडीमा दैनिक १० देखि ११ लाखसम्म टिकट रद्ध भइरहेको पश्चिम नेपाल बस व्यवसयी प्रालिका सञ्चालक जीवन बन्जाडेले बताए। उनले काठमाडौँको यात्रा सकसपूर्ण रहेको बताए।

अहिले केही राहत भएको उनको भनाइ छ। उनले भने, ‘वर्तमान राजनीतिक परिवेशले खासै फरक नपारे पनि सडकको दुरवस्थाले निकै सास्ती भयो।’ बुटवलबाट गुल्मी, पाल्पा स्याङ्जा जाने सडकमा भने अवस्था सामान्य छ । उनका अनुसार काठमाडौँबाट दसैँको बेला बुटवल बाहिरिने गाडीमा केही कमी आएको बताए। ‘सकभर हामी यात्रुलाई सहज सेवा दिने गरी लागेका छौँ’, उनले भने।

प्रकाशित: १३ असोज २०८२ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast