एसिया कप : पाकिस्तानका नकवीबाट भारतीय खेलाडीले ट्रफी नलिने निर्णय कसको?

हिमाल प्रेस १३ असोज २०८२ १०:५३
112
SHARES
एसिया कप : पाकिस्तानका नकवीबाट भारतीय खेलाडीले ट्रफी नलिने निर्णय कसको? ट्रफीविनै खुसियाली मनाउँदै एसिया कप विजेता भारतीय टिम।

काठमाडौँ- एसिया कप २०२५ फाइनल खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले हराउँदै ९ औँपटक उपाधि हात पारेको छ।  ४१ वर्षको अवधिमा पहिलोपटक एसिया कपको फाइनलमा यी दुई टिम आइतबार राति दुबईस्थित स्टेडियममा आमनेसामने भएका थिए।

तर, जितपछि मैदानमा भएका घटनाक्रमहरू क्रिकेटको इतिहासमै अभूतपूर्व रह्यो।

भारतीय टिमले एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्षसमेत रहेका पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्‍यो। नकवी पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षसमेत हुन्।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाले यो निर्णय खेलाडीहरूले पहिले नै गरेको पछि स्पष्ट पारेका थिए।

म्याचमा पाकिस्तानले प्रस्तुत गरेको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। तिलक वर्मा नटआउट ६९ रन बनाए भने शिवम दुबेले ३३ रनको योगदान दिए।

तर, भारतको जितभन्दा बढी चर्चा भने भारतीय खेलाडीहरू ट्रफी लिन मञ्चमा नपुगेको विषयबारे भयो।

म्याचपछि के भयो?

खेल सकिएसँगै हुने पुरस्कार वितरण समारोह करिब एक घन्टा ढिलो सुरू भयो। समारोहको उद्घोषण गर्न न्युजिल्यान्डका पूर्वअलराउन्डर साइमन डूल उपस्थित भए।

यसक्रममा भारतीय खेलाडीहरू व्यक्तिगत पुरस्कारहरू ग्रहण गर्न मञ्चमा उपस्थित भए। ‘प्लेयर अफ द टुर्नामेन्ट’ को पुरस्कार भारतीय ब्याटर अभिषेक शर्मा, ‘बेस्ट बलर’ भारतकै कुलदीप यादव र ‘प्लेयर अफ द म्याच’ तिलक वर्माले प्राप्त गरे। यी व्यक्तिगत पुरस्कारहरू सम्बन्धित प्रायोजकका प्रतिनिधिले खेलाडीहरूलाई प्रदान गरेका थिए। व्यक्तिगत पुरस्कार लिन मञ्चमा पुगेका भारतीय खेलाडीहरू नकवीतर्फ कुनै ध्यान दिएनन्।

त्यसपछि पुरस्कार वितरण समारोहको उद्घोषण गरिरहेका डुलले ‘भारतीय टिम न त पुरस्कार वितरण समारोहमा सहभागी हुनेछ, न त ट्रफी उठाउनेछ,’ घोषणा गरे।

बीसीसीआईका सचिव सैकियाले भारतीय खेलाडीहरूले एसीसी अध्यक्ष नकवीबाट ट्रफी नलिने निर्णय गरेको जानकारी गराएका थिए। यद्यपि पुरस्कार वितरण समारोह चलिरहँदा नकवी भने मञ्चमै उभिएका थिए।

तर, विजेत टिम भारत मञ्चमा गएन र कप्तान सूर्यकुमार यादवलाई ट्रफी दिइएन। नकवी मञ्चमा उपस्थित एकमात्र व्यक्ति थिए, जसले भारतीय खेलाडीहरूलाई तालीसम्म बजाएनन्।

भारतीय खेलाडीहरूले अडान राखेपछि एसीसी र स्टेडियम व्यवस्थापन ट्रफी कसले दिने भन्ने निर्णयमा अल्झिरहेका थिए। एक्कासी समारोह रोकियो र आयोजकहरूले ट्रफीलाई ड्रेसिङ रूममा लगेर राखिदिए।

भारतले ट्रफी नलिए पनि, खेलाडीहरूले मैदानमा आफ्नै शैलीमा जितको खुसी मनाए।

फाइनलअघि नकवीले भनेका थिए,‘म उत्कृष्ट फाइनल हेर्न उत्साहित छु र विजेता टिमलाई ट्रफी दिने प्रतिक्षामा छु।’ उनले एसीसीको नियमअनुसार विजेता टिमलाई आफूले नै ट्रफी प्रदान गर्ने अडान लिएका थिए।

मोदीलाई नकवीको जवाफ

भारतको जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा टिमलाई बधाई दिए। उनले आफ्नो पोस्टमा ‘अपरेसन सिन्दूर’ को उल्लेख गरे।
‘खेल मैदानमा अपरेसन सिन्दूर। नतिजा त्यही–भारत जित्छ। हाम्रो क्रिकेट खेलाडीहरूलाई बधाई,’ मोदीले लेखे।

भारतले पहलगाम आक्रमणपछि पाकिस्तानविरूद्धको सैन्य कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको थियो।

मोदीको पोस्टमा एसीसी अध्यक्ष नकवीले लेखे,‘यदि युद्ध नै तपाईँको गौरवको मापन हो भने, पाकिस्तानबाट भारतले पाएकोे बेइज्जतीको हारलाई इतिहासले पहिले नै दर्ज गरिसकेको छ र कुनै पनि क्रिकेट म्याच यो सत्यलाई बदल्न सक्दैन। युद्धलाई खेलमा ल्याउनु निराशा र खेलभावनाको अपमान हो।’

भारतका गृहमन्त्री अमित शाहले जुनसुकै मैदान भए पनि भारतको जित सुनिश्चित रहेको प्रतिक्रिया दिए।

‘शानदार जित, हाम्रा खेलाडीहरूको जबर्जस्त ऊर्जाले फेरि एकपटक विपक्षीलाई ध्वस्त पार्‍यो। भारतको जित सुनिश्चित हुन्छ, चाहे मैदान जुनसुकै किन नहोस्,’ शाहले सामाजिक सञ्जालमा लेखे।

ट्रफी नलिने निर्णय कसको?

भारतीय कप्तान सूर्यकुमारले यसरी ट्रफी नदिइिएको आफूले पहिले कहिल्यै नदेखेको बताए। पत्रकार सम्मेलनमा उपस्थित भएका उनले यसलाई टिमको सामूहिक निर्णय बताए।

उनले भने,‘च्याम्पियन टिमलाई ट्रफी नदिइनु अचम्म छ। त्यो पनि कडा मेहनत गरेर जितिएको ट्रफी। मेरो विचारमा हामी त्यसका हकदार थियौँ। म योभन्दा बढी केही भन्न सक्दिनँ। मेरो लागि ट्रफी भनेको ड्रेसिङ रूममै छ–त्यहाँका १४ जना खेलाडी र सहयोगी स्टाफ नै मेरो असली ट्रफी हुन्।’

यो निर्णय आफूहरूले मैदानमा लिएको उनले बताए। ‘यो निर्णय हामीले मैदानमै लिएका थियौँ, कसैले यसो गर्न भनेको होइन। जब तपाईँ पूरै टुर्नामेन्टमा राम्रो खेल्नुहुन्छ र जित्नुहुन्छ भने, ट्रफी डिजर्भ गर्नुहुन्छ वा हुँदैन? तपाईँ नै भन्नुहोस्,’ सूर्यकुमारले भने।

बीसीसीआई सचिव सैकियाले ट्रफी नदिइएको विषयमा आईसीसी सम्मेलनमा आधिकारिक विरोध दर्ज गर्ने बताए।

उनले भने,‘हामीले एसीसी अध्यक्षबाट ट्रफी नलिने निर्णय गरेका छौँ। उनी पाकिस्तानका शीर्ष नेतामध्ये एक हुन्। तर, यसको मतलब ट्रफी वा पदक उनीहरूसँग रहने होइन। हामी अपेक्षा गर्छौँ, यी पुरस्कार भारतलाई छिट्टै फिर्ता गरिन्छ। आगामी नोभेम्बरमा दुबईमा आईसीसी सम्मेलनमा यसबारे कडा विरोध गर्नेछौँ।’

भारतीय खेलाडीहरूले एसीसी अध्यक्ष नकवीबाहेक अन्य जो कोहीको हातबाट ट्रफी र पदक लिने अडान लिएको थियो।

यसैबीच बीसीसीआईले फाइनलमा पाकिस्तानलाई हराएकोमा भारतीय क्रिकेट टिमलाई पुरस्कारस्वरूप २१ करोड रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। यो पुरस्कार खेलाडी र सहयोगी स्टाफबीच बाँडिनेछ।

म्याचपछि पाकिस्तानका कप्तान सलमान अली आगाले भारतसँग हारेपछि आफूहरूको आलोचना हुने निश्चित रहेको बताए। ‘हाम्रो आलोचना त हुन्छ नै। जसले क्रिकेट बुझ्छन्, उनीहरू क्रिकेटकै कुरा गर्छन्। अन्य कुरा गौण छन्। हामीलाई थाहा छ, हाम्रो ब्याटिङ यस टुर्नामेन्टमा राम्रो भएन र के सुधार गर्नुपर्छ भन्ने पनि थाहा छ,’ उनले भने।

आगाले भारतीय खेलाडीहरूको व्यवहार निराशाजनक लागेको उनले बताए। ह्यान्डसेक र खेलभावनाबारे प्रश्नमा उनले भने,‘भारतीय खेलाडीहरूको व्यवहार निराशाजनक लाग्यो। ह्यान्डसेक नगर्नु वा यस्तो व्यवहार गर्नु क्रिकेटकै अनादर हो। जसले क्रिकेटको अपमान गर्छ, उ कहिल्यै टिक्दैन। आज उनीहरूले गरेको काम कुनै राम्रो टिमले गर्दैन।’

सुरूकै म्याचमै तनाव

एसियाकप २०२५ मा भारत र पाकिस्तान तीनपटक भिडे। पहिलो दुई खेलमै भारतले सहज जित निकाल्यो। तर, यी खेलबाहेक मैदाबाहिर पनि तनाव देखियो।

पहिलो म्याचदेखि नै भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेका थिए। त्यसपछि कप्तान सूर्यकुमारले यो जित पहलगाम आक्रमणमा मारिएका परिवारहरूलाई समर्पित भएको बताए।

समूह चरणका खेलहरूमा पनि टसको बेला दुवै कप्तानले हात मिलएका थिएनन्। त्यसपछि पाकिस्तान क्रिकेट बोर्डले म्याच रेफ्री एन्डी पाइक्रफ्टलाई हटाउन माग गरेको थियो।

हात नमिलाउनेबारे सूर्यकुमारले भनेका थिए,‘कतिपय कुरा खेलभावनाभन्दा पनि माथि हुन्छन्।’

प्रकाशित: १३ असोज २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast