पर्वतीय दौडमा ११ वर्षदेखि ८२ वर्षसम्मका धावक, रावतलाई उपाधि

हिमाल प्रेस ११ असोज २०८२ १९:५८
12
SHARES
पर्वतीय दौडमा ११ वर्षदेखि ८२ वर्षसम्मका धावक, रावतलाई उपाधि पोखरामा शनिबार आयोजित दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका सहभागी। तस्बिर : हिमालप्रेस

पोखरा– पोखरामा शनिबार आयोजित दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन्। सुदूरपश्चिमका राउतले निर्धारित आठ किमि दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए। दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेट, भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम भए । उनीहरूले जनही १५ हजार प्राप्त गरे ।

पोखरा २२ वडास्तरतर्फ कुशल परियार प्रथम र सुज्जल परियार दोस्रो भए । महिलातर्फ पदमकुमारी सुनुवार प्रथम हुँदा नीतु तामाङ दोस्रो भइन् ।

यू–१६ मा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार दोस्रो भए । प्रथम र दोस्राले जनही १५ हजार, सात हजार पाए ।

प्रतियोगितामा पुरस्कृत ८२ वर्षीय लीलबहादुर गुरुङ र ११ वर्षीय आरोन नेपाल।

प्रतियोगितामा ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरियो । गत वर्ष पोखरा म्याराथन पनि दौडिएका लीलबहादुर भूपू भारतीय आर्मीका सुबेदार हुन् । पाल्पा रिब्दिकोटका आरोनले पहिलोपल्ट ८ किमी दौड पूरा गरेका हुन् ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ८ देशको प्रतिनिधित्व थियो । जसमा ११७ धावक सहभागी भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।

विश्व पर्यटन दिवस अवसरमा भएको प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।

विश्व शान्ति स्तुपमा भएको उद्घाटन समारोहमा दौडको सुरुआत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछनेले गरेका थिए ।

समापनमा विश्व कीर्तिमानी धावक तनहुँका वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा प्रर्वद्धन विशिष्ट सम्मान गरियो ।

प्रकाशित: ११ असोज २०८२ १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast