जेनजीको माग सम्बोधन चुनावपछि मात्रै

हिमाल प्रेस ९ असोज २०८२ २०:४२
6
SHARES
जेनजीको माग सम्बोधन चुनावपछि मात्रै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार सिंहदरबारमा पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधनलगायतका जेनजी पुस्ताले उठाएका माग चुनावपछि मात्र हुन सक्ने स्पष्ट पारेकी छन्। उनले नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएको बताएकी हुन्।

राष्ट्रका नाममा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘ युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु।’

उनले छमहिने कार्यवधि रहेको चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्नसक्ने अवस्था नरहेको बताइन्। उनले भनिन्, ‘तापनि हामी कतिसम्म गर्न सक्दछौँ त्यसको इमानदार प्रयास गर्नेछौँ। सरकारी निकायबाट प्रवाह हुने सेवामा सहजता महसुस हुनेगरी बिना झन्झट, कुनै रिसवत नदिई सेवा प्राप्त हुने कुराको सुनिश्चितता दिलाउन चाहन्छु।’ उनले भ्रष्टाचार न्यूनीकरण, विधिको शासन र सामाजिक न्यायको प्रत्याभूतिलगायतका क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्ने बताइन्।

सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्नेजस्ता कार्य भएमा उजुरी सुनी सोको तत्काल निराकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारका सबै मन्त्रालय एवं तिनै तहका सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको जानकारी प्रधानमन्त्रीले दिइन्।

प्रकाशित: ९ असोज २०८२ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast