
बागलुङ- यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्यांग्रा भित्रिएका छन्। मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्यांग्रा भित्रिएका हुन्।
जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्यांग्रा भित्रिएका छन्। हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्यांग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन्।
दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेँडाच्यांग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्यांग्रा भित्रिउने गरिएको बलबहादुर थापाले बताए। बर्सेनि बागलुङबाट मुस्ताङ पुगेर च्यांग्रा भित्र्याउँदै आएका उपल्लाचौरका थापाले यस पटक २९ वटा मात्रै च्यांग्रा भित्र्याएको जानकारी दिए।
उनले प्रतिच्यांग्रा रु ३५ हजारदेखि रु ३७ हजारसम्ममा बिक्री हुने गरेको बताए। च्यांग्राको मासु काटेर प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री गर्दै आएको भन्दै थापाले मूल्यवृद्धि भएकाले पछिल्लो समय च्यांग्राको मासु कम खपत हुन थालेको अनुभव सुनाए। गत वर्ष जिल्लामा तीनसय भन्दा बढी च्यांग्रा भित्रिने गरेकामा यस वर्ष मूल्य वृद्धि भएसँगै उक्त संख्यामा कमी आएको हो।
‘स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्यांग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन । आर्थिक अवस्था कमजोर हुनेले खानै सक्दैनन्’, थापाले भने, ‘मुस्ताङबाट चार दिनमा च्यांग्रा ल्याएको हो, रोज्जा च्यांग्राको मूल्य रु ३७ हजार पर्दछ।’ उनले पहिला जस्तो च्यांग्रा व्यापारमा नाफा नभएको बताए।
थापासँगै बागलुङका ज्ञानेन्द्रबहादुर कार्की र महेन्द्रबहादुर केसीले यस पटक ३०-३० गरी ६० वटा च्यांग्रा भित्र्याए। बागलुङ बजारमा मासु पसल सञ्चालन गर्दै आएका केसीले लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्यांग्रा ल्याउने कामलाई निरन्तरता दिइराखेको छ।
च्यांग्राको आयात थोरै हुँदा मूल्य बढेको उनको भनाइ छ। मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्यांग्रा ल्याउने गरेका उनले जानकारी दिए।
गोठबाट उतैका व्यापारीले च्यांग्रा मुस्ताङको सदरमुकाम जोमसोम ल्याउने र आफूले त्यहाँबाट खरिद गरेको केसीले जानकारी दिए। हिमाली भेगमा पालन गरिएका भेँडाच्यांग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ। चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्यांग्रा बागलुङ झार्ने गरिन्छ।