घिसिङले चीनसँग मागे सडक र प्रसारण लाइन कनेक्टिभिटीमा सहयोग

हिमाल प्रेस ८ असोज २०८२ १५:०९
30
SHARES
घिसिङले चीनसँग मागे सडक र प्रसारण लाइन कनेक्टिभिटीमा सहयोग

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले नेपाल-चीनबीचको भौगोलिक सम्पर्कलाई थप मजबुत बनाउन सडक र विद्युत् प्रसारण लाइनको स्थायी कनेक्टिभिटीका लागि चीनसँग सहयोग मागेका छन्। बुधबार सिंहदरबारमा चीनका राजदूत चेन सोङसँग भएको भेटमा उनले विशेषगरी कोदारी-काठमाडौँ (अरनिको) र रसुवागढी-स्याप्रुबेँसी सडक मर्मत र सुधारमा चिनियाँ प्रविधि तथा सहयोग आवश्यक रहेको बताएका हुन्।

भेटमा नेपाल-चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो।

मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ-कोदारी (अरनिको) र स्याप्रुबेँसी-रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

यसैगरी काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी-बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत् आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन उनले आग्रह गरे।

मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला-कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको जानकारी गराउँदै नारायणघाट-बुटवल तथा मुग्लिन-पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए।

सो अवसरमा राजदूत सोङले छिमेकी मित्रराष्ट्र नेपालको प्राथमिकताका आधारमा यसअघि जस्तै सक्दो सहयोग गर्न चीन तयार रहेको बताए।

उक्त भेटमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल र सडक विभागका महानिर्देशक बिजय जैशी एवं परराष्ट्र मन्त्रालय उत्तरपूर्व एसिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका अधिकारीको उपस्थिति थियो।

प्रकाशित: ८ असोज २०८२ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast