
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। आइतबार बसेको पदाधिकारी बैठकलाई करिब एक घण्टा सम्बोधन गर्दै उनले आगामी मंसिर महिनामा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।
‘विशेष परिस्थिति भएकाले अब विशेष महाधिवेशन गरौँ, नयाँ नेतृत्व रोजौँ,’ प्रचण्डले बैठकमा भने। उनको प्रस्तावअनुसार पदाधिकारी बैठकले निर्णय गरेर केन्द्रीय समितिमा पेस गर्नेछ।
केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै संरचना र पदाधिकारी विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी हुने बताइएको छ। यही आयोजक समितिले मंसिरमा महाधिवेशन गर्ने अख्तियारी पाउनेछ।
प्रचण्डले एक साताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव समेत राखेका छन्। उनले देशको समग्र अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिनुपर्ने आगामी कदमबारे बैठकमा विस्तृत धारणा राखेका थिए।