
काठमाडौँ- एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजीका विषयमा दिएको अभिव्यक्तिलाई लिएर युवापुस्ताले हाँसिमजाक गरिरहेका छन्। प्रसंग हो, संविधान दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालयमा आयोजित पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गरेको भाषणको एउटा अंश।
विभिन्न अनलाइन समाचारमाध्यम र सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण भएको उक्त भाषणमा प्रचण्डले भनेका छन्, ‘जनयुद्धमा ९० प्रतिशत हाम्रा साथीहरू/हाम्रा कमरेडहरू जेनजी नै थिए।’ प्रचण्डले माओवादी जनयुद्धमा समेत जेनजी सहभागी भएको बताएपछि जेनजीहरूले उनको धज्जी उडाइरहेका छन्।
प्रचण्डको नेतृत्वमा माओवादी ‘जनयुद्ध’ २०५२ साल फागुन १ गते (सन् १९९६, फेब्रुअरी १३) बाट सुरु भई २०६३ वैशाख (सन् २००६ अप्रिलमा) अन्त्य भएको थियो। जेनजी (जेनेरेसन जेड) पुस्ता भनेका सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका युवा हुन्। अर्थात् अहिले बढीमा २८ वर्ष र कम्तीमा १३ वर्षका व्यक्ति जेनजी हुन्। आजभन्दा ३० वर्षअघि सुरु भएको माओवादी ‘जनयुद्ध’ अन्त्य भएको पनि २० वर्ष बितिसेकोछ।
प्रचण्डले जेनजी भनेका व्यक्ति सन् १९९७ मा जन्मिएका भए पनि २००६ मा उनीहरूको उमेर भर्खर ९ वर्षको थियो। त्यतिबेला ‘जनयुद्ध’ अन्त्य भइसकेको थियो। प्रचण्डले कतै ‘जनयुद्ध’मा नाबालकलाई प्रयोग त गरेनन् भन्ने प्रश्न उठेको छ।
प्रचण्डले फेरि भने, ‘त्यसकारण सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो। हामी कसैले पनि हो कि होइन भनेर दुविधामा नपरौँ।’ यसपछि दर्शकदीर्घाबाट ताली बज्छ।
अनि फेरि प्रचण्डले भने, ‘नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याउने र हजारौँको बलिदानको निम्ति तम्तयार हुने जेनजी पुस्ताले नै जनयुद्ध गरेको हो। यो कुरा तपाईँहामी सबैले स्मरण गर्न जरुरी छ।’ यसरी प्रचण्डले जेनजीको अर्थ नै नबुझी भाषण गरेको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
एकजना जेनजीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डको भनाइअनुसार जनयुद्ध १९९६ बाट सुरु भएको हो र जेनजी भनेका सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्ता हुन्! के प्रचण्डले युद्धको त्यो दशकमा नाबालक प्रयोग गरेका हुन्? कि मैले गलत बुझेँ?’
अर्का एक जेनजीले जनयुद्धमा परिचालित युवालाई जेनजी भनेर सम्बोधन गर्नु प्राविधिक हिसाबले गलत हुने उल्लेख गरेका छन्। उनका अनुसार जेनजी भनेको सन् १९९७ पछि जन्मेका पुस्ता हो।
जेनजीको दुईदिने आन्दोलनले मुलुकको सत्ता परिवर्तन मात्रै भएको छैन। उनै प्रचण्डजस्ता पुराना पुस्तालाई राजनीतिबाट किनारा लाग्नुपर्ने अवस्था उत्पन्न भएको छ। जेनजीकै सिफारिसमा अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गरेकी छन्। त्यसैले जेनजी एउटा भिन्नै राजनीतिक शक्तिका रूपमा उदय भएको छ।
जनता पनि जेनजीले उठाएका कतिपय मागलाई समर्थन गर्न थालेका छन्। त्यही मौकामा प्रचण्डले जेनजीको प्रशंसा गर्न खोजेर उनीहरूको ध्यान तान्ने प्रयास गरेका हुन्। तर अर्का एक जेनजीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेनजी भन्ने शब्दको आशय नबुझ्ने बूढाको कुरा के सुन्नु?’
यस्ता अनेक खालका टिप्पणी भए पनि माओवादी अध्यक्ष प्रचण्डले जेनजी भनेर युवापुस्तालाई भनेका हुन्। जनयुद्धमा त सन् १९८० को दशकअगाडि जन्मिएका युवा मात्रै सहभागी थिए। उनीहरूलाई मिलेनियल्स (सन् १९८१ देखि सन् १९९६ सम्म जन्मिएका) र जेनएक्स (सन् १९६५ देखि सन् १९८० सम्म जन्मिएका) भनिन्छ।
सन् १९५० को दशकमा जन्मिएका प्रचण्ड उमेर समूहका भने बेबी बुमर हुन्। यस्तै बेबी बुमरहरू सधैँ सरकारमा रहने, उनीहरूकै सन्तानले विलासीपूर्ण जीवन बिताउने र भ्रष्टाचार गरिरहने जस्ता विकृतिले आजित भएपछि जेनजी पुस्ता सडकमा उत्रिएर सत्ता परिवर्तन गराउन सफल भएको छ।