पोखरामा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने

हिमाल प्रेस ३ असोज २०८२ २०:५५ | Friday, September 19, 2025
पोखरामा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने

पोखरा- विजयादशमी अवसरमा पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यसपालि नवदुर्गा शोभायात्रा स्थगित गरी ज्ञानमहायज्ञमात्र सञ्चालन हुने जनाएको हो। पर्व विशेषका गतिविधिहरुमध्ये विजयादशमी अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको छ।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जेनजीको आन्दोलनसँगै उत्पन्न शोक र विषम परिस्थितिका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा स्थगित गरी यसपालि ज्ञानमहायज्ञलाई मात्र निरन्तरता दिइएको जनाए।

ज्ञानमहायज्ञ घटस्थापनाको दिनदेखि सुरु भई महानवमीसम्म चल्नेछ। यस्तै, सो अवधिमा सतचण्डी महानुष्ठान र भजनकीर्तन समेत हुनेछ । महायज्ञका वाचक पण्डित पशुपति पौडेल हुने छन्।

समितिले पर्वउत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरुका उपलक्ष्यमा विशेष पूजनोत्सव गर्दै आएको छ।

विन्ध्यवासिनी आजभन्दा झण्डै अढाई शताब्दी पुरानो मन्दिर हो। कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा यो मन्दिर स्थापना भएको किंबदन्ती छ।

मन्दिरको संरक्षण विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति गठन भएको थियो। समिति गठनपछि यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरुको निर्माण, सौन्दयीकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी आयोजना लगायतका कार्यहरु हुँदै आएका छन्।

प्रकाशित: ३ असोज २०८२ २०:५५ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast