
काठमाडौँ- अफगानिस्तानको बगराम एयरबेसलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिपछि तालिबान सरकारले आधिकारिक जवाफ दिएको छ। विदेशी शक्तिको हस्तक्षेप स्वीकार्य नहुने तालिबानले बताएको हो।
तालिबानले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेको छ,‘विदेशी शक्तिहरूलाई हाम्रो भूमिमा कहिल्यै स्वीकार गरिएको छैन, इतिहास साक्षी छ।’
बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणका क्रममा अफगानिस्तानमा रहेको बगराम एयरबेसलाई अमेरिका फेरि नियन्त्रणमा लिन प्रयासरत रहेको बताएका थिए।
उनले यसलाई ‘सानो ब्रेकिङ न्युज’ भन्दै यो एयरबेसको महत्व चीनका कारण पनि रहेको बताएका थिए। ट्रम्पले भनेका थिए,‘हामी यो एयरबेल पुनः नियन्त्रणमा लिन चाहिरहेका छौँ, किनभने यहाँबाट चीनले परमाणु हतियार निर्माण गर्ने स्थान मात्र एक घन्टाको दूरीमा छ।’
बगराम एयरबेस सन् १९५० को दशकमा सोभियत संघले निर्माण गरेको हो। १९८० को दशकमा अफगानिस्तामा सोभियत कब्जाकै समयमै यो उनीहरूको प्रमुख सैन्य अड्डा बनेको थियो। सन् २००१ मा अमेरिकाले तालिबानलाई सत्ताच्युत गरेपछि एयरबेसमा नियन्त्रण जमाएको थियो।
त्योबेला पूणरुपेले नष्ट भइसकेको बगराम एयरबेसलाई अमेरिकी सेनाले पुनः निर्माण गरी करिब ७७ वर्ग किलोमिटर क्षेत्रमा विस्तार गरेको थियो। ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीपछि अमेरिकाले बगराम एयरबेस छोड्नु ठूलो गल्ती भएको पटक–पटक बताउँदै आएका छन्।
काबुलको उत्तरमा पर्ने परवान प्रान्तस्थित यो सैन्य अड्डाको चर्चा गदै उनले प्रायः चीनको विषय जोड्ने गरेका छन्। बगरामको चर्चा गर्दा ट्रम्प चीनबारे टिप्पणी गर्न छोड्दैनन्। चीनले बगराम एयरबेसमाथि कब्जा जमाएको उनको दाबी छ।
यसै वर्ष जुलाई ७ मा मन्त्रिपरिषद् बैठकमा समेत उनले भनेका थिए,‘यदी म भइदिएको भए बगरामको ठूलो सैन्य अड्डा आफ्नो नियन्त्रणमा राख्थेँ, जुन अहिले चीनको नियन्त्रणमा छ।’
ट्रम्पका अनुसार बगराम संसारकै सबैभन्दा बलियो एयरबेसमध्ये एक हो, जुन कंक्रिट र स्टीलले बनेको छ।
