
काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को भदौमा नेपालले १०९ परियोजनाका लागि ८ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार यी परियोजनाले २५ हजार १६७ नयाँ रोजगारी सिर्जना गर्ने प्रस्ताव गरेका छन्।
चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल २३६ परियोजनाका लागि ३३ अर्ब ९ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। यी परियोजनाहरुले ३३,८१४ रोजगारी सिर्जना गर्नेछन्।
भदौमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता पाएका १०९ उद्योगमध्ये १०० साना, पाँच ठूला र चार मध्यम उद्योग छन्। यसैगरी लगानी प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा कृषि तथा वन क्षेत्रले पाएको छ, जसले कुल लगानीको ६५ प्रतिशत ओगटेको छ।
पर्यटन क्षेत्रमा २० प्रतिशत, सेवा क्षेत्रमा ८ प्रतिशत, उत्पादन क्षेत्रमा ४ प्रतिशत, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा २ प्रतिशत र ऊर्जा क्षेत्रमा १ प्रतिशत लगानीको प्रतिबद्धता प्राप्त भएको छ।
परियोजना संख्याका हिसाबले हेर्दा पहिलो दुई महिनामा १२० परियोजनासहित आईसीटी अगाडि छ। पर्यटन ७९ परियोजनासहित दोस्रो स्थानमा छ भने सेवामा १५, उत्पादनमा १२, कृषि तथा वनमा ९ र ऊर्जा क्षेत्रमा १ परियोजना स्वीकृत भएको छ।
लगानीको परिमाणका आधारमा कृषि तथा वन क्षेत्र अगाडि छ, जसले दुई महिनामा २१ अर्ब ९८ करोड रुपैयाँको प्रतिबद्धता पाएको छ। त्यसपछि पर्यटनले ६ अर्ब ६९ करोड रुपैयाँ, सेवाले २ अर्ब ८१ करोड रुपैयाँ, उत्पादनले १ अर्ब २४ करोड रुपैयाँ, आईसीटीले ५६ करोड २७ लाख रुपैयाँ र ऊर्जाले १८ करोड ४२ लाख रुपैयाँको लगानी प्रतिबद्धता पाएका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले ८४० परियोजनाका लागि ६५ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको थियो।
तर प्रतिबद्धता भए पनि वास्तविक कार्यान्वयन भने निकै न्यून छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक दशकमा प्राप्त कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामध्ये केवल ३७.८९ प्रतिशत मात्र कार्यान्वयन भएको छ। आव २०७१/७२ देखि २०८०/८१ सम्म नेपालले कुल ३९५ अर्ब ९२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेकोमा १२६ अर्ब २९ करोड रुपैयाँ मात्र वास्तविक लगानीका रूपमा भित्रिएको छ।