
काठमाडौँ- उत्तरी छिमेकी चीनका राजदूत छन सङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ता गरेको केही समयमै बिहीबार सिंहदरबारमा राजदूत छङले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।
दुई दिनअघि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर दुई प्रधानमन्त्री बीच फोन वार्ता गर्ने तारतम्य मिलाएका थिए। त्यसपछि उत्तरी छिमेकले पनि भेटको चाहना अघि बढाएको परराष्ट्र अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत छनले चीन सधैँ नेपालसँगै रहने र सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्कीलाई चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीबाट भने कार्कीलाई बधाई तथा शुभकामना प्राप्त भएको थिएन। राजदूतले छनले उनीहरूका तर्फबाट शुभकामना दिएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीको नाताले चीनले नेपाली जनताको आकांक्षालाई सम्मान गर्ने र सरकारलाई आवश्यक परेमा सहयोग गर्न तयार रहेको राजदूतले स्पष्ट पारेका छन्
‘हामी नेपाली जनताको चाहना सम्मान गर्छौँ,’ राजदूत छनलाई उद्धृत गर्दै एक अधिकारीले भने, ‘आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जानेछौँ। असल छिमेकीको हैसियतमा सरकारले आवश्यक ठानेको ठाउँमा हामी सधैँ सघाउन तत्पर छौँ।’
प्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि चिनियाँ राजदूतले गरेको यो पहिलो भेट हो। चीनले नेपाललाई दिने भनेर प्रतिबद्धताअनुरूपको सहयोग नआएको विषयमा परराष्ट्र र अर्थ अधिकारीहरूले चासो राख्दै आएका छन्। चीनले प्रतिबद्धता कार्यान्वयनबारे आगामी दिनमा गम्भीर छलफल हुने एक अधिकारीले बताए।