जेनजी प्रदर्शनमा सहादत दिएका दिनेश राजवंशीको परिवार बिचल्लीमा

हिमाल प्रेस १ असोज २०८२ १५:४१ | Wednesday, September 17, 2025
जेनजी प्रदर्शनमा सहादत दिएका दिनेश राजवंशीको परिवार बिचल्लीमा

झापा- अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा सहिद भएपछि परिवारको विचल्ली भएको छ।

विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए। स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उनको निधन भयो।

उनी दुई वर्ष खाडीमुलुक कतारमा बसेर स्वदेश फर्किएका थिए। स्वदेशमा केही उद्यम गर्ने सोचका साथ उनले परिवारको जीविकोपार्जनका लागि मासु पसल सञ्चालन गरेका थिए। उनकी पत्नी जान्ती राजवंशीले आयआर्जनका लागि दैनिक ज्यालादारी काम गर्छिन्।

दिनेशको पाँच वर्षीय एक छोरा रिदम र एक वर्षीया छोरी दिपीका अहिले पनि बुबा घर आउने बाटो कुरिरहेका छन्। उनकी ३० वर्षीया पत्नी जान्ती र ५५ वर्षीया आमा सपना राजवंशीको आँसु ओभाएका छैनन्। बुबा मंगलु राजवंशीको तीन वर्षअघि निधन भइसकेको छ।

जेनजी प्रदर्शनमा दिनेशले सहादत प्राप्त गरेपछि उनीमाथि आश्रित परिवार आर्थिक रूपमा कमजोर बन्दै गएपछि परिवारको बिचल्ली हुने हो कि भन्ने चिन्ता लागेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए। ‘विदेश गएर कमाएको पैसाले घर चल्दै आएको थियो’, उनले भने, ‘देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ। साना नानीहरू र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने?’

दिनेशको सानो कच्ची घरमा दाजु र भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको छ। उनको निधनपछि छोराछोरी र आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्तीले बताइन्।

‘घरमा साना छोराछोरी छन्, तिनीहरूलाई हुर्काउने, पालनपोषण गर्ने र पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको छ’, उनले भनिन्, ‘वृद्ध सासुआमा हुनुहुन्छ। घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु।’

मासु बिक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर रोमानिया जाने तयारी गर्दै थिए। उनको निधनपछि परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको छ। एसएलसीसम्म अध्ययन गरेका दिनेश परिवारका आशा र भरोसा थिए।

हाल दिनेशको काजकिरिया उनको दाजु गोवर्द्धन राजवंशीले गरिरहेका छन्। रोजगारीको सिलसिलामा विदेशमा रहेका उनी भाइको निधन भएको खबर सुनेर स्वदेश आएका हुन्। भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएकाले छोरा रिदम र छोरी दिपीकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्ने गोवर्द्धनको माग छ।

प्रकाशित: १ असोज २०८२ १५:४१ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast