म शिक्षामन्त्री बन्न लागेको होइन : लक्ष्मीकिशोर सुवेदी

हिमाल प्रेस ३० भदौ २०८२ ११:४३
874
SHARES
म शिक्षामन्त्री बन्न लागेको होइन : लक्ष्मीकिशोर सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफू शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने चर्चामा कुनै सत्यता नभएको बताएका छन्। सामाजिक सञ्जालमा आफू शिक्षा मन्त्रालय नेतृत्वमा लागिरहेको भन्ने हल्ला फैलिएकोप्रति दुःख व्यक्त गर्दै सुवेदीले आज भने, ‘यो कुरा कहाँबाट र किन उठ्यो, मेरो जानकारीमा छैन। सुरुमा बेतुकको र हास्यास्पद ठानेर नजरअन्दाज गरेँ तर नजिकका शुभचिन्तकले समेत सोध्न थालेपछि प्रतिक्रिया दिन बाध्य भएँ।’

सुवेदीका अनुसार हालको सरकार जेनजी आन्दोलनको परिणाम हो र त्यस आन्दोलनमा आफ्नो कुनै संलग्नता वा योगदान नभएकाले सत्ता सञ्चालनमा आफ्नो कुनै भूमिका वा हक नभएको उनले स्पष्ट पारे। उनले भने, ‘म शिक्षक हुँ र शिक्षक नै रहीरहन चाहन्छु। मलाई साथीहरूले नेपाल शिक्षक महासंघको नेतृत्वको जिम्मा दिनुभएको छ, म यही दायित्व इमान्दारीपूर्वक निर्वाह गर्दैछु।’

शिक्षा मन्त्रालयमा नेतृत्व गर्न जटिल समस्या समाधान गर्ने योग्यता, क्षमता र दूरदृष्टि भएको व्यक्तिलाई आवश्यक पर्ने उनको भनाइ छ। सुवेदीले थपे,‘हिजोआज मन्त्रीको कुर्सीमा जो पनि आएका छन् र चलाएका छन्, परिणाम सबैले देखिसक्नु भएको छ।’

सुवेदीले आफू विद्यार्थी कालदेखि आन्दोलनमा संलग्न भए पनि अहिले पेसाकर्मी मात्र रहेको र कुनै राजनीतिक महत्वाकांक्षा नरहेको दोहोर्‍याए। ‘पेसागत अवधि रहेसम्म म अझै पेसागत आन्दोलनको कर्मठ सिपाहीका रूपमा सक्रिय रहिरहन चाहन्छु,’ उनले भने।

यस्तो छ सुवेदीको भनाइ

सामाजिक सञ्जालमा मेरो बारेमा एउटा चर्चा आइरहेको छ । शिक्षा मन्त्रालयको नेतृत्वको होडमा म लागेको कुरा आउँदा म आफैं अचम्मित र दुःखित भएको छु । यो कुरा किन, कसरी र कहाँबाट उठ्यो मेरो जानकारीमा छैन । शुरुमा मैले यसलाई बेतुकको र हास्यास्पद चर्चा भनी नजरअन्दाज गर्दै रहें तर जब मेरा अत्यन्त नजिकमा शुभचिन्तक तथा सहृदयी मित्रहरुले समेत फोन तथा म्यासेज मार्फत सोधखोज गर्नुभो , त्यस्ता पोस्टहरुमा प्रतिक्रिया दिन थाल्नुभयो यसबारे प्रतिक्रिया सार्वजनिक गर्न आवश्यकता महशुश गरें । त्यसैले यो प्रतिक्रिया सम्पेषण गरेको छु ।
१. अहिलेको सरकार जेन्जी आन्दोलनको परिणाम हो । जेन्जी आन्दोलनमा उठेका सुशासन, पारर्दिशता, भ्रष्टाचारको अन्त्य, राजनीतिक स्थिरता लगायतका विषय सान्दर्भिक र उचित छन् ।
म जेन्जी आन्दोलनको सहभागी , अभियन्ता र योजनाकार केही पनि होइन । यो आन्दोलनमा मेरो कुनै संलग्नता र योगदान छैन । त्यसैले परिवर्तन पछिको प्राप्तिमा पनि मेरो कुनै हिस्सा र हक हुन सक्दैन । अहिले सत्ता सञ्चालनको अभिभारा यो आन्दोलनका अभियन्ता, सहभागी, भाष्यकार र योजनाकारले लिने हो अरुले होइन ।
२. म शिक्षक हुँ र शिक्षक नै रहीरहन चाहन्छु । साथीहरुको सद्भाव, सहयोग र समर्थनले म नेपाल शिक्षक महासङ्घको नेतृत्वमा छु । साथीहरुले मलाई पेसागत आन्दोलनको नेतृत्व गर्ने जिम्मा दिनु भएको छ । म यही दायित्व इमान्दारीपूर्वक निर्बाह गरिरहेको छु र गरीरहन चाहन्छु । मैले रोजेर लिएको यो पेशामा उमेरको हदसम्म रहीरहन चाहन्छु । मलाई यसैमा गौरव छ ।
२. म त्यो पदको आकाङ्छी र दाबेदार होइन । मलाई कहींबाट त्यस्तो प्रस्ताव पनि आएको छैन र आउने सम्भावना पनि छैन । त्यसैले यो विषयमा चर्चा नगरिदिन सबैमा विनम्र अनुरोध गर्दछु ।
३. वि.स.२०४६ र २०६२–०६३ को आन्दोलनको म सक्रिय सहभागी हुँ । विद्यार्थी कालमा पनि एउटा विद्यार्थी सङ्गठनमा लागेर सक्रियतापूर्वक काम गरेको हुँ । विद्यार्थी आन्दोलन कै क्रममा हिरासत र जेलयात्रा पनि गरेको हुँ तर अहिले म पेसाकर्मी हुँ, राजनीतिकर्मी होइन । त्यसैले अहिले मेरो कुनै राजनीतिक संलग्नता र महत्वाकाङ्क्षा छैन ।
४.शिक्षा क्षेत्रमा जटिल समस्याहरु छन् , तिनको निराकरणका लागि शिक्षा मन्त्रालयमा नेतृत्व गर्न धेरै योग्यता, क्षमता र दूरदृष्टि भएको मान्छे चाहिन्छ तर हिजोआज मन्त्रीको कुर्सीमा जो पनि र जस्ता पनि पनि आएका छन् र चलाएका छन् । परिणाम के भएको छ सबैले देख्नु भएकै छ ।
५.विद्यार्थी काल देखि नै म सँधैं निष्ठा र इमान्दारीको बाटोमा हिंडेको छु । एउटा वैचारिक आस्थामा निरन्तर अविचलित भएर अडिएको थिएँ र छु । त्यही बाटोमा निरन्तर हिंडीरहन समेत चाहन्छु ।
६. पेसागत अवधि रहेसम्म अझै म पेसागत आन्दोलनको कर्मठ सिंपाहीकारुपमा सक्रिय रहीरहन चाहन्छु ।
अन्त्यमा लोकतन्त्रले अधिकार मात्र दिंदैन, त्यतिकै कर्तव्य र दायित्व पनि पनि दिन्छ । लोकतन्त्रले हिंसालाई ठाउँ दिंदैन । जो सत्तामा हुनुहुन्छ वा हुनेक्रममा हुुनुहुन्छ वहाँलाई यसतर्फ मन्थन गर्न अनुरोध गर्दछु ।

प्रकाशित: ३० भदौ २०८२ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast