
काठमाडौँ- जेनजीको आन्दोलन उग्र बनेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २४ भदौमा पदबाट राजीनामा दिएको घोषणा गरे। उनले ‘सीएम सतिशत सिंह’ नामक फेसबुक पेजबाट जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्देशनमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए।
‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो। तर, नागरिकको जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसमानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ,’ सिंहले सामाजिक सञ्जालमा लेखेका थिए,‘नागरिकको ज्यानभन्दा ठूलो अरू केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।’
पार्टी अध्यक्षको निर्देशनमा सिंहले राजीनामा दिएको भन्ने विषय राउतको सचिवालयले पनि सामाजिक सञ्जालमा पटक–पटक सेयर गरेको थियो।
सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरे पनि सिंहको राजीनामापत्र अझै प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन। मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १६९ को उपधारा १ (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ।
प्रदेश प्रमुख कार्यालयले भने मुख्यमन्त्री सिंहको राजीनामा कार्यालयमा प्राप्त नभएको जनाएको छ। प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीका स्वकीय सचिव टीकाराम उप्रेतीले मुख्यमन्त्रीको राजीनामा प्राप्त नभएको बताए। मूख्यमन्त्रीको राजीनामाबारे आफूहरूले पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाटै थाहा पाएको उनले बताए।
‘हामीहरूसँग मुख्यमन्त्रीज्यूको राजीनामा आइपुगेको छैन, हामीले पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाटै थाहा पाएको हो,’ हिमालप्रेससँग उप्रेतीले भने,‘राजीनामा आउँदा पहिले कार्यालयमा दर्ता हुन्छ, त्यसपछाडि स्वकीय सचिवालय (मसमक्ष) आइपुग्छ, अनिमात्र प्रदेश प्रमुखनजिक पुग्छ। म नजिक नै नआएपछि प्रदेश प्रमुखसम्म पुग्ने कुरा नै भएन।’
मुख्यमन्त्री सिंह भने आफूले राजीनामा नदिएको दाबी गर्छन्। अरूलाई मुख्यमन्त्री बनाउन आफूले किन राजीनामा दिने उनको भनाइ छ। ‘लुटपाट र तोडफोड नहोस् भनेर मैले पदबाट राजीनामा दिने घोषणा गरेको थिएँ,’ सिंह भन्छन्,‘तोडफोड र आगजनी त भइसक्यो अब मैले किन राजीनामा दिने? अरूलाई मुख्यमन्त्री बनाउन मैले किन राजीनामा दिने?’
जबकि राजीनामाको घोषणा गर्दै उनले आफू मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र साथ दिने सबैप्रति आभार प्रकट गरेका थिए।
‘म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु। साथै यो महत्वपूर्ण जिम्मेवारी वहन गर्ने अवसर प्रदान गर्नु भएकोमा जनमत पार्टीका श्रद्धेय राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउतज्यूसहित पार्टीका सबै समिति, नेता, कार्यकर्ताहरूप्रति कृतज्ञता प्रकट गर्दछु,’ मुख्यमन्त्री सिंहले भनेका थिए।
त्यतिमात्रै होइन राजीनामाको घोषणा गरिसकेको भए पनि सिंहले २६ भदौमा पुनः ‘सीएम सतिश सिंह’ उनले फेसबुक पेजबाटै जेनजी आन्दोलनको प्रशंसा गर्दै स्थानीय, प्रदेशीय र संघीय संरचना तथा सम्पदामा भएका क्षतिप्रति दुःख व्यक्त गरेका थिए। प्रदेश प्रमुख कार्यालयमा लिखित रूपमा राजीनामा नदिएकाले संवैधानिक र कानुनी रूपमा सिंह अझै मधेश प्रदेशका मुख्यमन्त्री हुन्।
राजीनामाको घोषणा गरेर पत्र नबुझाएपछि मुख्यमन्त्री जस्तो पदमाआसीन व्यक्तिले हलुका व्यवहार प्रदर्शन गरेको टिप्पणी हुन थालेको छ। मुख्यमन्त्रीले अपरिपक्व व्यवहार देखाएको विश्लेषकहरूले टिप्पणी गरेका छन्।
सिंह २०८१ जेठ २५ गते एमाले–माओवादीसहित ७ दलको समर्थनमा मुख्यमन्त्री भएका थिए। पछि केन्द्रमा सत्तासमीकरण फेरिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिएको थियो भने कांग्रेस सहभागी भएको थियो।
जनमत पार्टीका अध्यक्ष राउतले प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवलाई किनारा लगाएर सिंहलाई मुख्यमन्त्री बनाएका थिए।