तोडफोड र आगजनीबारे सीजीले भन्यो – राष्ट्रका लागि केही गर्ने सपनामाथि आक्रमण भयो

हिमाल प्रेस २७ भदौ २०८२ १४:३७
तोडफोड र आगजनीबारे सीजीले भन्यो – राष्ट्रका लागि केही गर्ने सपनामाथि आक्रमण भयो

काठमाडौँ- देशका प्रमुख व्यवसायिक समूहमध्ये एक चौधरी ग्रुप (सीजी) ले आफ्ना सम्पत्ति र कर्मचारीमाथि भएका आक्रमणलाई कम्पनीकै इतिहासको ‘सबैभन्दा पीडादायी दिनहरू’ भएको बताएको छ।

जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका संस्थापक एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीको निजी निवासका साथै कार्यालयहरूमा आक्रमण तथा आगजनी भएको थियो।

कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी परिवारलाई सम्बोधन गर्दै लेखेको खुला सन्देशमा ‘युवाहरूले जवाफदेही र परिवर्तनको माग गर्दै सुरू गरेको आन्दोलन–जसको उद्देश्य राम्रो थियो–त्यसमा उपद्रवी र बाह्य शक्तिहरू मिसिएर बिगारे’ बताएका छन्।

शान्तिपूर्ण रूपमा उत्तम नेपालको माग गर्नुपर्ने स्थानमा हिंसा, लुटपाट र विनाशमा परिणत गरिएको उनले जिकिर गरेका छन्।

चौधरीले आक्रमणले केवल भौतिक सम्पत्तिमात्र होइन, कम्पनीको दशकौँको मेहनत, त्याग र प्रतिबद्धतालाई लक्षित गरेको उल्लेख गरेका छन्।

‘हाम्रा अध्यक्ष व्यक्तिगत रूपमा निशाना बनाइए, हाम्रा पारिवारिक घरहरूमा आक्रमण गरियो र जलाइयो, हाम्रा कारखाना र कार्यालयहरूमा क्षति पु¥याइयो, हाम्रा सोरुमहरू लुटिए। दशकौँको मेहनत र त्याग केही घन्टामै खरानीमा परिणत भयो,’ उनले भनेका छन्,‘यो केवल सम्पत्तिमाथि आक्रमण थिएन, यो हाम्रो आशामाथि, विश्वासमाथि र राष्ट्रका लागि केही गर्ने सपनामाथि आक्रमण थियो।’

अस्तव्यस्तताका बीच पनि सीजीका नेतृत्वकर्ता, प्रबन्धक तथा कर्मचारीहरूले प्रदर्शनको साहस र समर्पणको चौधरीले प्रशंसा गरेका छन्। उनले भनेका छन्,‘आगो बलिरहँदा पनि हाम्रो मानिसहरूले हार मानेनन्।’

सीजीका सदस्यहरूका कारण विनाशका बीच पनि आशा अझै जिउँदै रहेको चौधरीले बताएका छन्। उनले भनेका छन्,‘उप्रदवीहरूले हाम्रा भवन जलाउन सक्छन्, तर उनीहरूले हाम्रा सपना जलाउन सक्दैनन्। उनीहरूले हाम्रो शोरुम लुट्न सक्छन्, तर उनीहरूले हाम्रो दृढता लुट्न सक्दैनन्। उनीहरूले हामीलाई कमजोर बनाउन खोज्न सक्छन्, तर उनीहरूले हाम्रो एकता तोड्न सक्दैनन्।’

चौधरी समूह थप बलियो भएर उठ्ने उनले विश्वास व्यक्त गरे।

जेनजी प्रदर्शनका क्रममा २४ भाद्रमा प्रदर्शनकारीहरूको निशानमा पर्ने सीजी एक्लो व्यापारिक प्रतिष्ठान थिएन। त्यो दिन देशको अर्थव्यवस्थालाई मजबुत पार्न महत्वपूर्ण भूमिका वहन गरिरहेका सीजीका साथै अन्य प्रतिष्ठानहरूलाई प्रदर्शनकारीले निशाना बनाए। उनीहरूले निजी क्षेत्रका उद्योगी व्यवसायीको प्रतिष्ठानमाथि छानिछानि आक्रमण गरे।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्व भनिए पनि आम सर्वसाधारणको लगानी रहेको पर्यटकीयस्थल चन्द्रागिरीमा तोडफोड भयो, आगजनी गरियो। ढकालकै मौलाकाली केबुलकारको बटम स्टेशनमा पनि आगजनी गरियो।

अर्बौँ लगानीमा बनेका शंकर ग्रुपको नक्सालस्थित पाँचतारे डिलक्स होटल लुटपाटपछि भएको आगजानीमा केहीबेरमै खरानी बन्यो। त्यस्तै टेलिकम कम्पनी एनसेलको लैनचौरस्थित मुख्यालयमा पनि आगजनी भयो।

उद्योगी शेखर गोल्छाको घरमा तोडफोड गरियो भने चारवटा गाडी जलाइयो। त्यस्तै उद्योगी सञ्जय गोल्छाको घर जलाएर ध्वस्त पारियो।

गैरआवासीय नेपाल संघ (एनआएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोको आवासमा समेत प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनी गरे। थापाथलीस्थित टाटा, हुन्डाई, महिन्द्रा र सीजी मोटर्सको शोरुम जलाएर ध्वस्त पारियो।

कान्तिपुर पब्लिेकसनको कार्यालय रहेको सेन्ट्रल पार्क जल्दा त्यहाँ रहेको राजेश अग्रवालको आरएमसी ग्रुपको कार्यालयमा क्षति पुग्यो। बैंकका आधादर्जन बढी शाखा र एटीएम बुथमा तोडफोड र लुटपाट भयो।

व्यवसायी पवन गोल्यानको कार्यालय गोल्यान टावर र राजेन्द्र बजगाईँको बालुवाटारस्थित वर्णवास होटल र बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिको टावरमा समेत आक्रमण भयो।

देशभरका कैयौँ व्यवसायिक प्रतिष्ठान र निजी घरहरू ध्वस्त पारिएको छ। सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा खर्बौँको सम्पत्ति नष्ट भएकाले पुनः निर्माणका लागि भावी दिनमा ठूलो चुनौति हुने निश्चित छ।

प्रकाशित: २७ भदौ २०८२ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast