
काठमाडौँ- नेपाली सेनाले झापा, काठमाडौँ र धादिङमा सुरक्षासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरी शंकास्पद वस्तु डिस्पोज गर्ने, फरार कैदी नियन्त्रणमा लिने तथा हतियार बरामद गरेको छ।
नेपाली सेनाले मुलुकको सुरक्षाबारे जानकारी दिँदै झापाको भद्रपुर नगरपालिका-८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद वस्तुलाई सुरक्षित रुपमा निस्तेज पारिएको जनाएको छ।
यस्तै, काठमाडौँको महाराजगञ्ज क्षेत्रमा दुई जना शंकास्पद व्यक्तिलाई विभिन्न मोबाइल तथा विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको छ। धादिङको गजुरीस्थित कारागारबाट भागेका कैदीमध्ये हालसम्म ४३ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाले जनाएको छ।
यससँगै हालसम्म विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद भएको सेनाले जनाएको छ। गत सोमबार र मंगलबार जेनजीको प्रदर्शनपछि सुरक्षाको मुख्य जिम्मेवारी सेनाले वहन गरेको छ।