जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएकोले सुनसान देखिएको वीरगन्जको  घण्टाघर आसपासको सडक। तस्बिर : रासस
                                            वीरगञ्ज (पर्सा)- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्युलाई केही खुकुलो बनाएको छ। प्रशासनले यसअघि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबारदेखि भने केही थप खुकुलो बनाएको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबारदेखि वीरगञ्ज महानगर आसपासमा कर्फ्युलाई केही खुकुलो बनाउँदै निषेधाज्ञाको समयावधि बढाइएको जानकारी दिए। ‘भोलि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको छ, विषम परिस्थितिलाई ध्यान दिँदै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र बेलुका ७ बजेदेखि पर्सीपल्ट बिहान ६ बजेसम्म भने कर्फ्यु जारी नै रहनेछ’, उनले भने।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न पाइने छैन।
पछिल्लो समय वीरगञ्ज आसपासमा प्रदर्शन तथा विरोधका गतिविधि नभए पनि प्रशासनले उच्च सतर्कता अपनाउँदै कफ्र्यू तथा निषेधाज्ञा भने जारी राखेको जनाएको छ।

                                             
                                             
                                             
                                             

