
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संसद विघटन र संविधान खारेज गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै राजालाई अभिभावकको भूमिकामा पुनःस्थापित गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
लिङ्देनले जिम्मेवार व्यक्तिहरूको गैरजिम्मेवार क्रियाकलापले देशले अकल्पनीय र अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अब थप जनधनको क्षति रोक्न, मुलुकलाई दीर्घकालीन द्वन्द्वबाट जोगाउन र वैदेशिक हस्तक्षेप रोक्न तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
उनले अघि सारेका मुख्य प्रस्तावहरूमा वर्तमान संसदको विघटन र संविधानको खारेजी, जेनजीको सहमतीमा अन्तरिम सरकार गठन,अन्तरिम संविधानको निर्माण, जेनजीको आन्दोलन दमनकारीहरूमाथि तत्काल कारबाही, २०४६ सालपछि बनेका उच्च पदस्थ नेता–कर्मचारी र तिनका नातेदारहरूको सम्पत्तिको छानबिन र कारबाही छन्।
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, जसले दुई कार्यकाल भन्दा बढी निर्वाचित हुन नपाउने, राष्ट्रपतिको सट्टा राजालाई अभिभावक संस्थाको रूपमा स्थापना गर्ने, पूर्ण समानुपातिक संसद, जहाँ सांसदहरूले मन्त्री बन्न नपाउने, प्रदेश संरचनाको खारेजी, बलियो स्थानीय तह र गैरदलीय स्थानीय शासन व्यवस्था, न्यायालयमा पुनःनियुक्ति प्रणाली, विद्यार्थी, कर्मचारी लगायतका यूनियनहरूको खारेजी, जसले र जहिले गरेको भएपनि सबै भ्रष्टाचार काण्डहरूको स्वतन्त्र छानबिन कायम गर्ने छन्।
पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र, संवैधानिक निकायहरूमा दलको सिफारिस नभई स्वतन्त्र र पारदर्शी नियुक्तिको व्यवस्था,
जस्ता विषयहरू रहेका छन् ।
लिङ्देनले नेपालको मौलिकता, संस्कृति र सामाजिक सद्भावलाई कायम राख्ने खालको नयाँ संरचना आवश्यक रहेको समेत बताएका छन् ।