लुटपाटमा संलग्न केही पक्राउ, अरूलाई सेनाले खोज्दै

हिमाल प्रेस २५ भदौ २०८२ १८:५२
लुटपाटमा संलग्न केही पक्राउ, अरूलाई सेनाले खोज्दै

काठमाडौँ– नेपाली सेनाले महाराजगन्जस्थित भाटभटेनीलगायतका क्षेत्रमा लुटपाटमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरु बुधबार पक्राउ परेका हुन्।

अराजक गतिविधीमा संलग्न रहेका र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याउनेहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

सेनाले सामाजिक सञ्जालदेखि सबै संयन्त्रमार्फत उनीहरुको पहिचान गरी त्यस्तो कारबाही अघि बढाउन लागेको हो। कानुनी राज्यमा शान्तिपूर्वक भएको आन्दोलनमा घुसपैठ भएको निष्कर्ष समेत सुरक्षा अधिकारीहरुको छ।

यस्ता अराजक कार्य गर्ने, खटिएका प्रहरीको युनिफर्म लगाएर अनेकन कार्यमा संलग्न हुने, चौकीमा आगजनी गरेर हतियार लुट्ने लगायतलाई पक्राउ गरी कारवाही गर्ने सुरक्षा निकायले जनाएको छ।

यस्ता व्यक्तिहरुलाई समाजमा यत्तिकै छोड्दा समाजमा थप अराजकता बढ्न सक्ने भन्दै सेनाको अगुवाईमा नै यो कार्य अघि बढ्ने भएको हो। दैनिकीलाई पूर्ववत अवस्थामा ल्याउन आफूहरू लागि परेको सैन्य प्रवक्ता राजराम बस्नेतले बताए। लुटपाट गर्ने तत्वहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने पनि उनले बताए।

यतिबेला परिस्थिती समान्यीकारण गर्ने, अत्यावश्यक सेवाहरु सुचारु गने तर्फ नै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले काम गरिरहेको पनि उनले बताए। नेपाली सेनाले एक वक्तव्य जारी गरेर आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध समेत गरेको छ।

मंगलबारको दुखदायी घटनापछि विभिन्न बैंक, सपिङ सेन्टर, भाटभटेनीलगायतका स्थानमा लुटपाट समेत भएको छ। यस्ता घटनामा संलग्नलाई भने कडा भन्दा कडा कारबाही हुने नेपाली सेनाले प्रष्ट पारेको छ। कानुनी राज्यमा अराजकता सुहाउँदैन भन्दै त्यसतो कार्यमा संलग्न हुनेलाई कानुन बमोजिम कारबाही हुने सेनाले प्रष्ट पारेको छ।

आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानका निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको पनि सेनाले बताएको छ। तर, आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने पनि सेनाले जनाएको छ।

अहिले परिस्थितिको फाइदा उठाएर लुटपाट गर्ने आगजनी गर्नेलाई नियन्त्रणमा लिने काम भइरहेको सेनाका अधिकारीहरुले जनाएका छन्।

मुलुक भिडले नभई विधिको शासनले चल्ने निष्कर्षसहित सुरक्षा निकायले यस्तो कारबाही गर्न लागेको हो। हतियार बोकेर व्यक्तिगत सम्पत्तिको नास गर्ने लुटपाटगर्ने जस्ता कार्यमा समेत केही व्यक्तिहरु लागेपछि सेनाले यस्तो निर्णय लिएको हो।

प्रकाशित: २५ भदौ २०८२ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast