अन्तर्वार्ता

नाइट रन खेलमात्रै होइन, सहर जीवन्त छ भन्ने सन्देश पनि हो : टीएस ठकुरी

केशव राना क्षेत्री २० भदौ २०८२ १८:३०
40
SHARES
नाइट रन खेलमात्रै होइन, सहर जीवन्त छ भन्ने सन्देश पनि हो : टीएस ठकुरी

आगामी असोज ३ गते नेपालगन्ज १० नाइट रन हुँदैछ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते हुने यो नेपालको एक मात्र रात्रिदौड हो। विश्वदौडको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो। यस वर्षबाट रात्रिदौडमा मिक्स रिले पनि समावेश गरिएको छ। नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पूरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो। यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ। रात्रिदौडको उद्देश्य, महत्त्व र यसले दिन खोजेको सन्देशलगायत विषयमा हिमालप्रेसकर्मी केशव राना क्षेत्रीले एम्स दूत एवं नेपालगन्ज म्याराथन, नेपालगन्ज १० नाइट रन र काठमाडौँ २५ हेरिटेज रेसका संस्थापक टीएस ठकुरीसँग गरेको संवाद :

नेपालगन्ज नाइट रन सुरु गर्नुको उद्देश्य के हो?

विकासको मानक पछ्याइरहेको कुनै ठाउँले एउटा सहरको स्वरूप ग्रहण गर्न विविध आयाम आवश्यक हुन्छन्। ती आयाममध्ये खेलकुद पनि एउटा हो। संसारभरको अभ्यास हेर्ने हो भने दौड अझ सहरीकरणको महत्त्वपूर्ण पक्ष मानिन्छ। हरेक विकसित सहरमा म्याराथन हुने गरेको हामी पाउँछौँ। विभिन्न विकसित सहरले पछिल्लो समय एउटा सभ्य र शान्त सहरको परिचय दिन रात्रि दौड आयोजना गर्ने गरिएको पाइन्छ। हामीले पनि आफ्नो कर्मभूमिलाई जीवन्त राख्न, सहरको बेग्लै परिचय स्थापित गर्न र सहर छवि निर्माण गर्न नाइट रनको परिकल्पना गरेका हौँ।

पश्चिम नेपालको पुरानो सहर नेपालगन्ज संघीयतासँगै कताकता खुम्चिएको आभास भइरहेका बेला नाइट रन मार्फत् सहर जीवितै छ भन्ने सन्देश दिने यसको उद्देश्य हो। चन्द्रमाको उज्यालोमा दौडनु चुनौतीपूर्ण मात्र हैन, फाइदाजनक पनि हुन्छ। दिनको घाम र आद्रताबाट बच्न चाहने धावकलाई रात्रि दौडले राहत दिन्छ। चिसो मौसम र शान्त वातावरणले आनन्दित महसुस गराउँछ। अन्धकारमा केवल टर्च वा बाटोका बत्तीको उज्यालोमा दौडदा पाइने रहस्यमय अनुभवले दिनको म्याराथनमा नपाइने उत्साह पनि थप्छ।

नेपालगन्जमा नाइट रन गर्नुपर्छ भन्ने सोच कसरी आयो?

विकसित देशहरूमा स्वास्थ्यका लागि दौड मान्नेहरूले समय हेर्दैनन्। अनुकूल समयमा दौडन निस्किहाल्छन्। त्यही सन्देश दिन नाइट रन गर्नुपर्छ भन्ने लागेको हो। अर्कोतिर नेपालगन्ज पश्चिम नेपालको प्रमुख सहर हो। र, गर्मी भएका जिल्लामा रात्रि जीवन राम्रो मानिन्छ। रात्रिकालीन जीवनलाई पुष्टि गर्न रात्रिकालीन गतिविधि आवश्यक हुन्छन्। नेपालगन्जको मौसम र बढ्दो बजारीकरणलाई दृष्टिगत गरी नाइट रन गर्ने सोच आएको हो।

यसलाई संविधान दिवससँग जोडेर आयोजना गर्नु र दौडका लागि नेपालगन्ज रोज्नुको विशेष कारण के हो?

संघीयताका कारण हामी पछाडि पारियौँ भन्ने नागरिक गुनासा छन्। बाँके-बर्दियाका नागरिकमा असन्तुष्टिका स्वर सुनिने गरेका छन्। त्यसले कतै न कतै संविधानप्रति नै असन्तोष बढ्ने खतरा पनि छ। तसर्थ, संविधान दिवसकै अवसरमा नाइट रन आयोजना गरेर बेग्लै उत्साह र ऊर्जा नागरिक तहमा दिने प्रयास हो। यसले संघीयताप्रति, संविधानप्रति, राज्यप्रति आम नागरिकलाई सकारात्मक बनाउँदै लैजाने अपेक्षा हो।

साथै, नेपालगन्ज भनेको पश्चिम नेपालको केन्द्र हो। जातीय, धार्मिक र साम्प्रदायिक हिसाबले विविधता भएको सहर नेपालगन्जमा नाइट रन गर्नुको अर्थ पक्कै छ। विविधतालाई एकतामा बाँधिरहनु हरेक सचेत नागरिकको दायित्व हो। नेपालगन्जले एकता, विकास र समृद्धिको सन्देश दिनु समग्र देशकै लागि शिक्षा हुने भएकाले नेपालगन्ज पहिलो रोजाइ हो। साथै मौसमका हिसाबले गर्मी हुने ठाउँमा रात्रि बजार उपयुक्त मानिन्छ। रात्रि बजारका लागि रात्रि दौडले थप टेवा दिन्छ। त्यसलै नेपालगन्जमै गर्ने निधो गरेका हौं।

तपाईंका दृष्टिमा नाइट रनले नेपालगन्ज वा यस आसपासका क्षेत्रलाई कसरी र कुन क्षेत्रमा बढी फाइदा गर्छ?

नेपालगन्ज पश्चिम नेपालको गेटवे (प्रवेशद्वार) हो। छिमेकी देश भारतको ठूलो प्रदेश, धेरै जनसंख्या भएको उत्तर प्रदेशको राजधानी लखनउसँग सीधै जोडिएको सहर नेपालगन्ज हुनुका नाताले नेपालगन्जको रात्रि बजार चलायमान गराउन, दौड संस्कृति प्रवर्द्धन गर्न निश्चय पनि नेपालगन्ज र नेपालगन्जवासीलाई लाभ हुन्छ नै। नाइट रन मात्र होइन, जुनसुकै रनले पनि मान्छेलाई फाइदा नै गर्छ। अब एआईको समयमा हरकाम एआईबाट हुने दिनहरू आउँदैछन्। तर दौडलाई चाहिँ एआईले कदापि विस्थापित गर्न सक्दैन। हरेक मान्छेलाई स्वस्थ रहन दैनिक सात हजार कदम पाइला चाल्नैपर्ने भनेर चिकित्सकहरूले सल्लाह दिएको पाउँछौँ। यसले पनि दौडको महत्त्व दर्शाउँछ। र, फेरि दौडको कुनै समय हुँदैन। अनुकूल समयमा दौडने गर्दा स्वस्थ भइन्छ। यसले हरेक मान्छेलाई समय अनुकूल मिलाएर दौड्नुपर्छ भन्ने सन्देश दिन्छ। यसले नेपालगन्ज र आसपास मात्र हैन, सिंगो नेपाली समाजलाई सन्देश प्रवाह गर्छ भन्ने लाग्छ। र, रात्रि दौड स्थापित भएसँगै यहाँको आर्थिक चलायमान हुन्छ, पर्यटकीय स्थलका रूपमा विकास हुन्छ। तसर्थ, खेलकुदमा मात्र होइन, यसले शैक्षिक, आर्थिक, सामाजिक, पर्यटन गरी समग्र क्षेत्रलाई फाइदा गर्छ।

यस वर्ष नाइट रनमा कुन-कुन विधा समावेश गरिएका छन्?

हामीले रात्रि दौडलाई १०के (१० किलोमिटर) रेस स्थापित गर्न खोजेका हौँ। तसर्थ खुल्ला महिला र पुरुष १० किमी, स्कुल स्तरीय ५ किमी छात्र एवं छात्रा, १० किमी पुरुष भेट्रान (५० वर्षमाथि), ५ किमी महिला भेट्रान (४५ वर्षमाथि) र १० किमी मिक्स रिले गरी सात विधा समावेश गरेका छौं।

मिक्स रिले जस्ता नयाँ विधा थप्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ?

रिले एथ्लेटिक्समा रोचक विधा हो। तसर्थ मिक्स रिले दौडले थप रोमाञ्चक बनाउने अपेक्षा गरेका छौँ। १० किलोमिटर दौड्न आँट नगर्नेका लागि समूह बनाएर भाग लिन सक्ने र १० किलोमिटर दौडिएको अनुभूति दिलाउने उद्देश्य हो। अहिलेसम्म यसको सकारात्मक प्रतिक्रिया पाएका छौँ। व्यवस्थापनको चुनौती पनि महसुस गरेका छौं।

सहभागिताको विविधता (जस्तै महिला, वृद्ध, विद्यार्थी) कस्तो रहने सम्भावना छ? वा विगतमा के थियो?

सामान्यतया, दौड सबैका लागि हो। हामीले बुझाउन नसकेको मात्र हो। कुनै पनि दौड प्रतियोगिता हरेक उमेर समूह, लिंग, जात, धर्म, पेसा सबैले एकैपटक एकै थलोमा जम्मा भएर प्रतियोगीको अनुभूति गर्ने अर्को कुनै खेल स्पर्धा नै छैन। र, दौड प्रतियोगिता भनेको व्यावसायिक खेलाडीका लागि मात्र होइन, यो त सबैलाई स्पर्धामा उत्रन दिने माध्यम हो। जस्तो नाइट रनमा पनि खुल्ला दौड भनिएको छ, त्यो सबैका लागि हो। त्यसमा सहज बनाइदिन निश्चित उमेर समूह पनि बनाएका छौँ। अझ रिलेतर्फ त जोसुकै पनि एउटा समूह बनाएर दौड स्पर्धामा भाग लिन सक्छ। तर, सबैले दर्ता प्रक्रिया भने पूरा गर्नुपर्छ।

राति यस्तो ठूलो कार्यक्रम आयोजना गर्दा सुरक्षा र व्यवस्थापनमा कस्तो खाले चुनौती हुन्छ? र, चुनौतीको सामना कसरी गरिरहनुभएको छ?

निश्चय पनि रातिको समयमा कार्यक्रम गर्नु ठूलो चुनौती नै हुन्छ। सडकका खाल्डाखुल्डी नदेखिँदा चोटपटक लाग्न सक्छ, बिजुली बत्ती नहुँदा त्यसको अप्ठ्यारो सामना गर्नुपर्ने हुन सक्छ। यसका बाबजुद सुरक्षा निकायको उच्च सतर्कता, स्थानीय जनप्रतिनिधिको अपनत्वभाव र नागरिक समाजले गर्ने रेस्पोन्सले गर्दा चुनौतीहरू सहजै सामना हुने गरेको छ नेपालगन्जका हकमा। प्रहरी र ट्राफिक प्रहरीले यसमा महत्त्वपूर्ण योगदान गर्नुहुन्छ। ११ वर्षदेखि हुँदै आएको धारा नेपालगन्ज म्याराथनलाई सफल बनाउँदै आउनुभएको स्थानीय सरकार र प्रहरी प्रशासनले गम्भीरतापूर्वक लिने गर्नु भएकाले चुनौतीलाई सहजै पार लगाउँदै आएका छौँ। यो १० के नाइट रनमा पनि ढुक्कसँग दौडने वातावरण हुनेछ।

स्रोत जुटाउँदाको अनुभव कस्तो रह्यो?

हामी विकासको प्रक्रियामा निकै पछाडि छौँ। दौडमा भाग लिँदा दर्ता शुल्क तिर्नुपर्छ भन्ने चेतनाको कमी छ। दौडले सहरको बेग्लै परिचय दिन्छ भन्ने बुझ्नेका जमात कम छ। उद्योग व्यापार गर्नेले यस्ता इभेन्टसँग सहकार्य गर्नुपर्छ भन्ने चेत उद्योगी व्यवसायीलाई पटक्कै छैन। सबै जिम्मेवारीको भारी बोक्नबाट पन्छिन खोजेको जस्तो लाग्छ। यसका बाबजुद असल मान्छे, असल व्यवसायी, असल जनप्रतिनिधि पनि छन्, यस्तै असल मान्छेले नै समाज बचाउने हो, समाजलाई चलायमान गराउने हो। यस्ता नगन्य मान्छेको सकारात्मक साथ सहयोगले मात्र स्रोत व्यवस्थापन मुस्किलले व्यवस्थापन हुँदै आएको अवस्था छ।

पहिलो संस्करण गर्दाको अनुभव कस्तो रह्यो? 

रात्रि दौड गर्ने भन्दा खिसीट्युरी गर्नेको कमी थिएन। धेरै चुनौतीका पहाड भएको आभास थियो। प्रशासनले पनि राति किन गर्ने, अलिक अगाडिको समयमै नै सुरु गर्नुस भनेर भन्नुभएको थियो। तर हेडलाइट, टल्कने ब्यान्ड खोजीमा लाग्यौं। सबै टिम परिचालन भयो। राम्रोसँग नै सम्पन्न भयो। त्यसले थप ऊर्जा दियो। सहर बनाउने हामी सबै मिलेर हो।

नेपालगन्ज म्याराथन र नाइट रन दुवैले एम्सको मान्यता पाएका छन्, यसको अर्थ र महत्त्व के हो?

विश्व दौड (वर्ल्ड रनिङ) को साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) हो। एम्सको सदस्यता लिनु भनेको सबैभन्दा पहिले त अन्तर्राष्ट्रिय रूपमा आधिकारिकता पाउनु हो। सदस्यतासँगै यसको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुन्छ। यसले संसारभरका धावक र पर्यटकलाई नेपालगन्ज (नेपाल) मा हुने म्याराथनका बारेमा जानकारी प्राप्त गर्न सहज भइदिन्छ। यसको विश्वसनीयता बढ्छ। आयोजकलाई पनि राम्रो कार्यक्रम गर्न प्रेरित गर्छ। एम्समा आबद्ध भएपछि क्षमता, दक्षता अभिवृद्धि हुने कार्यक्रमामा भाग लिने अवसर समेत प्राप्त हुन्छ।

नेपालगन्ज नाइट रनमा अन्तर्राष्ट्रिय धावकलाई आकर्षित गर्ने रणनीति के छ?

धारा नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय जगतमा राम्रो प्रभाव पारिरहेको छ। नेपालगन्ज म्याराथनको छातामुनि नेपालगन्ज कनक्लेव, नेपालगन्ज १० किमी नाइट रन, काठमाडौँ २५ हेरिटेज रेस, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स, गौघाट ग्रीन रन, कर्णाली हाफ म्याराथन, राप्तीसोनारी नेचर रन लगायत इभेन्ट सञ्चालित छन्। नेपालगन्ज म्याराथनको सक्रियता र परिचर्चाले गर्दा सबैले यसको ब्यानरमुनिका कार्यक्रममा भाग लिन एकदमै इच्छुक भइरहेको हामीले महसुस गरेका छौँ। गत जेठ महिनामा ललितपुर र काठमाडौँमा भएको नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स र काठमाडौँ २५ हेरिटेज रेसमा झण्डै दुई दर्जन विदेशीको सहभागिताले हामीप्रति विश्वास जागेको हामीले महसुस गरेका छौँ। नेपालगन्ज म्याराथन र नेपालगन्ज १० नाइट रनमा पनि विदेशीहरू आउन धेरै इच्छुक देखिन्छन्। तर हामी चाहिँ स्थानीयको सक्रियता, सहभागिता र कर्पोरेट हाउसको कथा सबै पक्षलाई हेरेर मात्र विदेशीलाई बोलाउने मनसायमा छौँ। सम्भवतः यस वर्षदेखि केहीलाई सहभागी गराउने तयारीमा पनि छौँ। हामी आफैँ अझै सक्षम भइसकेका छैनौँ। आयोजना भएर मात्र हुँदैन, सिंगो सहर, सिंगो समाज नै विदेशी धावक आउने वातावरण बनाउन लाग्नुपर्छ। सहभागिता संख्या, स्थानीयको व्यवहार, स्वागत सत्कार, नगद पुरस्कार लगायत धेरै कुरामा निर्भर छ। त्यसका लागि त आयोजक मात्र हैन, सबै पक्ष तत्पर हुनैपर्छ।

यसले समुदायको स्वास्थ्य र खेल संस्कृतिमा कस्तो योगदान दिएको छ?

पक्कै पनि धारा नेपालगन्ज म्याराथनको यात्रा आरम्भ भएपछि परिवर्तन पक्कै आएको छ। तर परिवर्तन तत्काल देखिने कुरा हैन। यो एउटा अभियान हो। लामो प्रक्रियापछि मात्र नतिजा देखिने हो। अझ दौड आधारभूत कुरा हो। दौडतर्फ आकर्षण गराउन सके सबै खेललाई योगदान गर्छ। तसर्थ हामीले दौड संस्कृतिलाई बढावा दिन दिनरात लागिपरेका छौँ। दौडतर्फको आकर्षण र आबद्धताले पक्कै स्वस्थ नागरिक जन्माउन सहयोग हुने नै छ। खेल संस्कृतिको विकासले स्वस्थ नागरिक तयार अवश्य गर्छ, यसले मस्तिष्क र मुटु स्वस्थ बनाउन पक्कै योगदान गर्छ। मान्छेको सन्तुलित जीवन बनाउन यसले ठूलो योगदान गर्ने भएकाले यसले समुदायमा महत्त्वपूर्ण योगदान दिने नै छ।

यसखाले कार्यक्रम गर्दा तपाईंका लागि सबैभन्दा कठिन क्षण कुन थियो?

हामी विकासको प्रक्रियामा धेरै पछाडि छौँ। दौडको महत्त्व बुझ्न नसक्ने अवस्थामा छौँ। दौड्ने भनेको खेलाडी बन्न हो भन्ने बुझाइ छ। कतिपय स्कुलमा अहिले पनि हाम्रा साथीहरू जाँदा स्कुलका प्रिन्सिपलहरूले हाम्रो स्कुलमा जित्ने बच्चा छैनन्, खेलाडी छैनन् भनेर सुनाउने गर्नुहुन्छ। जित्नकै लागि दौड्ने भन्ने साँघुरो सोच छ हामीकहाँ। यसलाई चिर्न अहिले पनि गाह्रो छ, सुरुवाती दिनमा कस्तो थियो होला, अनुमान मात्र गर्न सकिन्छ। सबैभन्दा चुनौती त यही हो। त्यसपछि प्रायोजक खोज्नु निकै चुनौती बन्यो। सबैले फुटबल, क्रिकेट वा भलिबल जस्ता सामूहिक खेलमा मात्र प्रायोजन गर्ने इभेन्ट बुझ्थे। बिस्तारै यो बुझाउन सफल भएका छौँ। अब चाहिँ म्याराथन, हाफ म्याराथन वा १० किमी दौड आदि सडक रेसमा स्पोन्सर खोज्न त्यति गाह्रो छैन। सहभागी संख्या राम्रो बनाउन सक्नुपर्छ, मिडिया एक्सपोजरको प्लान दिन सक्नुपर्छ। प्रायोजक कन्भिन्स हुने आधार बन्दैछ।

म्याराथन, नाइट रन लगायतलाई दीर्घकालीनरूपमा कसरी अगाडि बढाउने योजना बनाइरहनु भएको छ?

सहभागी शुल्क बुझाएर दौड्ने संस्कृतिको विकास गर्ने हाम्रो पहिलो जोड छ। जबसम्म हरेक नागरिकले पैसा तिरेर दौड्ने बानी बसाल्दैनन्, हरेक दौड इभेन्टलाई निरन्तरता दिन कठिन छ। हामी यसै बढी केन्द्रित छौँ। र, अहिले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरिरहेका छौँ। खेलाडीका लागि मात्र हैन, म्याराथनको आयोजना, प्रायोजन र व्यवस्थापनमा समर्पित व्यक्तित्वलाई पनि अन्तर्राष्ट्रिय एक्सपोजर दिने गरी काम गरिरहेका छौँ। यसले पनि कम्तीमा इभेन्टको आकर्षण बढाउँदै जाने र निरन्तरताको आधार तयार गर्ने हाम्रो अपेक्षा छ। सबैभन्दा पहिले स्वाभिमानी समाज बनाउनु छ। हरेक नागरिक स्वाभिमान भइदिने हो भने इभेन्ट आत्मनिर्भर हुँदै जानेछ।

नेपालगन्जबाहेक अन्य सहरमा पनि नाइट रन विस्तार गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ?

हामीले आफ्नो वार्षिक कार्य योजना सार्वजनिक गरिसकेका छौँ। अहिले पनि बहस छलफल सहितका गरी आठवटा कार्यक्रम भइरहेका छन्। अब हामी हाम्रो अनुभव, क्षमता र दक्षतालाई सदुपयोग गर्दै अन्य सहरका आयोजकलाई प्रोत्साहित गर्ने गरी काम बढाउने सोचमा छौँ। रात्रि दौड हरेक सहरमा सम्भव पनि हुँदैन। यसका लागि विद्युतीय व्यवस्था र सडक राम्रो हुनुपर्छ। तसर्थ रात्रि दौड अन्य सहरमा सञ्न्चालन गर्ने विषयमा अहिले भन्न सकिँदैन। यद्यपि अन्य दूरीका सडक दौड सरकारी निकाय वा अन्य संघसंस्थाको सहकार्यमा सञ्चालन गर्ने तयारीमा भने हामी छौँ।

प्रकाशित: २० भदौ २०८२ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast