
काठमाडौँ- छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ। काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा आख्यानकार अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गरेका हुन्।
कार्यक्रममा समीक्षक रेग्मीले उपन्यासको विषयवस्तु बालमनोविज्ञानमा आधारित भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको उल्लेख गरिन्। उपन्यासमा सामाजिक विभेददेखि मायाप्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको उनले बताइन्।
‘यो पुस्तक यति सुललित किसिमले लेखिएको छ। पढ्दै जाँदा पुस्तक छाड्नै मन लाग्दैन। कतिखेर सक्कियो त्यो पनि पत्तै हुन्न,’ पुस्तकको चर्चा गर्दै उनले भनिन्, ‘समाजमा मानिस मात्र नभएर प्राणीहरु पनि कसरी अनाथ बन्छन् भन्ने विषयलाई पनि मार्मिक किसिमले प्रस्तुत गरिएको छ।’
आख्यानकार अमर न्यौपानेले उपन्यास लेखक छवि वैरागी घिमिरे जस्तै रोचक टिप्पणी गरे। उपन्यास पढ्दा कतै पनि झिजोलाग्दो नभएको र एक/दुई बसाइमै पढेर सक्ने र उत्कृष्ट बनेको विचार व्यक्त गरे।
‘विविशाराले मलाई एक किसिमको साहित्यिक स्वाद दियो। यसको भाषाशैली र प्रस्तुतिले मलाई असाध्यै छोयो। पुस्तकहरूको संसारमा यसले आफूलाई पृथक किसिमले उभ्याउने मेरो विश्वास छ,’ उनले भने।
साहित्यकार बाबु त्रिपाठीले पनि पुस्तक पढेपछि समाजमा कति किसिमका अनाथ हुने रहेछन् भनेर सोच्न बाध्य बनाउने धारणा राखे।
लेखक वैरागीले लामो समयको खोज, अनुसन्धान र साधनापछि उपन्यास ‘विविशारा’ प्रकाशनमा ल्याएको बताए। उनका अनुसार उपन्यास नियतिको प्रहारले मरणासन्न बनेको निर्दोष भुइँमान्छेको कथा हो। दैवीप्रकोप, बालश्रम, यौनशोषण र सामाजिक विभेदको मुक्का खाएर ढल्दा पनि सङ्घर्षको राँको बोकेर हिँडिरहेको हिम्मतिला मानिसको कथा समेटिएको छ। पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो।
लेखक छवि वैरागी घिमिरे छन्द कवि एवम् आख्यानकार हुन्। विविशारा उनको दोस्रो उपन्यास हो। पछिल्लो कृतिकाे रुपमा उनकाे ‘किनारीकृत माइली’ चम्पू खण्डकाव्य चर्चित छ।
रेडियो सञ्चारकर्मीका रुपमा एक दशक काम गरिसकेका घिमिरे हाल विविन्न साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा छन्। साधकका रुपमा समेत परिचित उनका दर्जनजति कृति साहित्यिक पत्रिकामा प्रकाशित छ।