भदौ १८ देखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने सञ्चालकहरूको घोषणा

हिमाल प्रेस १२ भदौ २०८२ १५:४८
62
SHARES
भदौ १८ देखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने सञ्चालकहरूको घोषणा काठमाडौँको नयाँबानेश्वर माइतीघर मण्डलामा गत सोमबार (९ भदौ) निजी विद्यालय सञ्चालकहरूले गरेको आन्दोलन। फाइल तस्बिर हिमालप्रेस।

काठमाडौँ- निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनलाई अझ कडा पार्ने चेतावनी दिएका छन्। उनीहरूले भदौ १८ गतेसम्म माग सम्बोधन नभए देशभरका निजी विद्यालय अनिश्चितकालसम्म बन्द गर्ने घोषणा गरेका हुन्।

प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायतका निजी विद्यालयका छाता संगठनहरूले बिहीबार जारी संयुक्त कार्यक्रमअनुसार हालसम्म पहिलो चरणको आन्दोलन सकिएको छ। पहिलो चरणपछि दोस्रो चरणका कार्यक्रममार्फत सरकारलाई दबाब दिने बताइएको छ।

निजी विद्यालय सञ्चालकहरूले विशेष गरी ‘विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने’ र ‘पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने’ प्रावधान विधेयकबाट हटाउनुपर्ने माग राखेका छन्। उनीहरूको भनाइमा यस्तो प्रावधानले निजी क्षेत्रलाई निरुत्साहित गर्ने मात्र नभई गुणस्तरीय शिक्षा प्रभावित हुन्छ।

दोस्रो चरणअन्तर्गत आज काठमाडौँ उपत्यकामा माइतीघर मण्डलादेखि र्‍यालीसहित कोणसभा गरिएको छ भने जिल्ला सदरमुकामहरूमा पनि खबरदारी सभा सम्पन्न भएको छ।

भदौ १६ गते देशभरका निजी विद्यालयहरूले विद्यालय बसमा कालोझण्डा बोकी नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ। काठमाडौँ उपत्यकामा भने २७ किलोमिटर लामो चक्रपथ परिक्रमा र जिल्लामा प्रतिघण्टा २० किलोमिटर गतिमा र्‍याली गर्ने घोषणा गरिएको छ। यस कार्यक्रममा सबै तहका पदाधिकारी, विद्यालय सञ्चालक र प्रिन्सिपलहरूको अनिवार्य उपस्थिति हुन आग्रह गरिएको छ।

त्यस्तै, भदौ १७ गते पुनः सबै संस्थाले आआफ्नो तहमा बैठक बसेर आन्दोलनको समीक्षा गर्ने र आगामी कदमबारे तयारी गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि भदौ १८ गते पुनः देशव्यापी खबरदारी सभा आयोजना गर्ने निर्णय गरिएको छ। काठमाडौँ माइतीघर मण्डलामा भेला भई र्‍याली निकालेर कोणसभामा परिणत गरिनेछ भने जिल्लामा सदरमुकाममा यस्तै सभा गरिनेछ।

सञ्चालकहरूले भनेका छन्, ‘यदि भदौ १८ गतेसम्म पनि हाम्रो मागलाई सरकारले सम्बोधन गरेन भने बाध्य भएर अनिश्चितकालसम्म विद्यालय बन्द गर्नेछौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast