राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेको मात्रै उम्मेदवारी

हिमाल प्रेस १० भदौ २०८२ १६:२२
14
SHARES
राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेको मात्रै उम्मेदवारी ईश्वरी न्यौपाने

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा एकजनाको मात्र उम्मेदवारी परेको छ। सभापतिका लागि तोकिएको समयभित्र सत्तारुढ दलका तर्फबाट ईश्वरी न्यौपानेको मात्रै उम्मेदवारी परेको संसद्का सचिव हर्कराज राईले जानकारी दिएका छन्।

न्यौपाने कांग्रेसका सांसद हुन्। नेपाली कांग्रेस र एमालेले समिति सभापति बनाउन प्रस्ताव गरेपछि उनल संसदीय सुनुवाइ विशेष समितिको सभापतिबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गरेकी हुन्। सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।

प्रतिपक्षी दलहरूले भने समिति सभापतिका लागि उम्मेदवार चयन गरेका छैनन्। सुशासन समितिका सभापतिका विषयका नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच कुनै छलफल नभएको ती दलका नेताहरूले बताए।

उम्मेदवारी दर्ता गर्ने समय मंगलबार ४ बजे सकिएको छ। त्यस अवधिमा कुनै सांसदले उम्मेदवारी नदिएकाले न्यौपाने निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

कांग्रेस र माओवादीको गठबन्धन भई पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला संसदीय समितिमा दलीय भागबन्डा गरिएको थियो। सोही आधारमा सुशासन समिति कांग्रेसको भागमा परेको थियो।

समितिका निवर्तमान सभापति खतिवडा निजामती विधेयकमा विश्राम अवधि (कुलिङ पिरियड) मा भएको छेडखानीपछि विवादित बनेका थिए। त्यसपछि गठित संसदीय समितिले विधेयकमा छेडखानी हुनुमा उनको पनि जिम्मेवारी रहेको ठहर गरेको थियो। सोही आधारमा कांग्रेस सांसद खतिवडाले सभापतिबाट राजीनामा दिएका थिए।

सभामुख देवराज घिमिरेले समितिको सभापतिको निर्वाचन बुधबारका लागि तोकेका छन्। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार अपराह्न ४ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर प्रस्ताव दर्ताको समय तोकिएको छ।

समितिको बैठकमा प्रस्तावकले बुधबार प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित: १० भदौ २०८२ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast