मुग्लिन-पोखरा सडक विस्तार : ०७७ मा सम्झौता भएको सडक निर्माण अझै सकिएन, फेरि म्याद थप

हिमाल प्रेस ८ भदौ २०८२ १३:४५
16
SHARES
मुग्लिन-पोखरा सडक विस्तार : ०७७ मा सम्झौता भएको सडक निर्माण अझै सकिएन, फेरि म्याद थप

तनहुँ- मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो।

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ। यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ। कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो।

उनले भने,‘कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन्। अधिकांश ठाउँमा सडक रङ्रोगन पनि सकिएको छ। अब थोरैमात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका थियौँ।’

सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनमा कालोपत्रको काम सकिएको उनको भनाइ छ। पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।

प्रकाशित: ८ भदौ २०८२ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast