मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको आपत्ति : ‘इम्बोस्ड नम्बर प्लेटबाट नेपाली भाषा हटाउने निर्णय संविधानविपरीत’

हिमाल प्रेस ७ भदौ २०८२ १६:४९
418
SHARES
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको आपत्ति :  ‘इम्बोस्ड नम्बर प्लेटबाट नेपाली भाषा हटाउने निर्णय संविधानविपरीत’

काठमाडौँ- मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले सवारीसाधनको नम्बर प्लेटबाट नेपाली भाषा विस्थापित गराउने सरकारी निर्णयको कडा विरोध गरेको छ। सञ्जालले संविधानको मर्मविपरीत अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर राख्ने निर्णय त्रुटिपूर्ण भएकाले तत्काल सच्याउन सरकारसँग माग गरेको हो।

‘विभिन्न देशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने अभ्यास भए पनि ती देशले आआफ्नै भाषाका लिपिको प्रयोग गर्ने गरेकामा नेपाली भाषा हटाएर अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णय घोर आपत्तिजनक र निन्दनीय छ’, सञ्जालका अध्यक्ष प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सञ्जालले नेपाली भाषाको रक्षा गर्नुपर्ने सरकारबाट नेपाली भाषामाथि बारम्बार प्रहार भइरहेको र नेपाली भाषाको अपमान गरिएकोमा दुःख व्यक्त गरेको छ।

‘सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्नैपर्ने भए प्रचलित रङअनुरूपकै प्लेटमा नेपालको पहिचान झल्किने गरी नेपाली भाषामा राखिनुपर्छ’, सञ्जालका अध्यक्ष लुइटेलले भनेका छन्। इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी भाषामा पनि राख्नैपर्ने भए नेपाली र अङ्ग्रेजी दुवै भाषामा राख्नका लागि सञ्जालले माग गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयविरुद्ध सञ्जालले अभियानकै रूपमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्नका लागि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र यातायात विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएर सशक्त दबाब दिइसकेको छ।

प्रधानमन्त्रीबाट नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने घोषणा पनि भएको थियो। सञ्जालको तीव्र दबाबस्वरूप सवारीसाधनमा नेपाली वा अङ्ग्रेजी वा दुवै भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने नेपाल सरकारको निर्णय २०८० वैशाख १४ को राजपत्रमा समेत प्रकाशित भएको थियो।

कानुनसरह मान्य हुने राजपत्रमा प्रकाशित सूचनाको समेत अवज्ञा गरी तथा यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला सरकारले आफ्नै निर्णयविपरीत पुनः अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय गरेको सूचना जारी गरेको छ। साथै असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने सरकारी सूचनामा उल्लेख छ।

यसअघि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्वले तीव्र दबाब दिई नेपाल प्रज्ञा प्रतिष्ठानबाट अमानक वर्णविन्यासमा प्रकाशित नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरी मानक वर्णविन्यासअनुरूप प्रकाशन गराउन बाध्य पारेको थियो।

सञ्जालकै दबाबमा शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रबाट अमानक वर्णविन्यासमा प्रकाशित विद्यालय तहका देवनागरी लिपिमा लेखिएका सबै पुस्तक मानक वर्णविन्यासमा प्रकाशन गराइएको थियो। त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज गराउने, कक्षा ११ र १२ मा नेपाली विषयको पठनपाठन अनिवार्य रूपमा गराउने , नेपाल राष्ट्र बैंकमार्फत सबै बैंकका एटीएममा नेपाली भाषा अनिवार्य रूपमा राख्ने जस्ता निर्णय सञ्जालकै दबाबमा भएको हो।

नेपाल र नेपालीको पहिचान एवं राष्ट्रियतासँग जोडिएको नेपाली भाषा नेपालको संविधानअनुसार राष्ट्रभाषा र सरकारी कामकाजको भाषा हो। नेपालमा विभिन्न जातजातिका आआफ्नै मातृभाषा भए पनि नेपाली भाषा बहुसङ्ख्यक नेपालीले बुझ्ने, बोल्ने जनसम्पर्कको माध्यम भाषासमेत हो।

२०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सवारी धनीलाई निर्देशन दिइएको सडक विभागले गत मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

कथित इम्बोस्ड नम्बरका दासहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast