वीरगन्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

हिमाल प्रेस ७ भदौ २०८२ ८:५४
4
SHARES
वीरगन्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

पर्सा- वीरगन्ज महानगर-१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन्। वीरगन्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन्। वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले हैजाका बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए।

वीरगन्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगन्जको तराई हस्पिटलमा भर्ना भएका थिए।

सो अस्पतालले ठूलो संख्यामा बिरामी आएपछि वीरगन्ज महानगरलाई खबर गरेको थियो। नारायणी अस्पताल वीरगन्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भित्रियो कोलेरा पाइएको थियो।

वीरगन्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिए। संक्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको बताइएको छ।

महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन शुक्रबार रातिदेख नै स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन्। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगन्जमा हैजाको प्रकोप देखापरेको बताए।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापर्वाही नगर्न सबैलाई अनुरोध गरेको छ।

नारायणी अस्पताल वीरगन्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालको आकस्मिक विभागमा पनि झाडापखालामा गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको जानकारी दिए।

‘यो हैजा हुनसक्ने सम्भावना छ। नआत्तिकन आफूले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन अनुरोध गर्दछु’, उनले भने।

प्रकाशित: ७ भदौ २०८२ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast